पूर्वाधार

त्रिभुवन विमानस्थलबाट अब डेढ मिनेटमै जहाज उड्ने

चैत १९ देखि २८३९ रनवे मिटरमा मात्र विमान सञ्‍चालन हुने

अतिन आचार्य |
फागुन २४, २०८० बिहीबार १४:११ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट एकदेखि डेढ मिनेटबाट जहाज उडान हुने गरेर निर्माण हुने भएको छ । हाल विमानले धावन मार्गमा अकुपेन्सी समय चार मिनेट लिने गरेको छ ।

धावन मार्ग निर्माण सम्पन्न भएपछि विमानले डेढ मिनेटमा उडान भर्न सक्ने नागरिक उड्डयन प्राधिकरणका सह-प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार वाइडबडी जस्ता जहाजले डेढ देखि दुई मिनेटमा उडान भर्न सक्छन् । अकुपेन्सी समय घट्दै जानेछ । ट्राफिक हेन्डिलिङको क्षमता बढ्दै जानेछ ।


धावनमार्गको दुवै विन्दुमा निर्माण कार्य हुने भएकाले रनवेको दायाँबायाँ काम भएपछि तीन महिनापछि एक डेढ मिनेटमा सहजै विमान उड्न सक्ने उनले प्रस्ट पारे ।

रनवेको निर्माण सम्पन्न भएपछि जहाजले रनवेमा लिने समय घट्ने उनको भनाइ छ । रनवेसम्म टयाक्सी वे जोडेकाले गर्दा अहिलेको भन्दा बढी ट्राफिक उडाउन सकिने भूलले बताए ।  

चैत १९ देखि काठमाडौँ विमानस्थलको उत्तरी विन्दुको रनवे बन्द गरेर दायाँबायाँ काम गरिने उनले बताए । तत्कालका लागि रनवेको लम्बाइ घट्ने पनि उनको भनाइ छ । 

३ हजार ५० मिटर लामो धावनमार्गको उत्तर-दक्षिणतर्फ २ सय ३६ मिटर घटाएर काम हुने भूलले बताए । बाँकी २८ सय रनवे मात्र सञ्चालनमा आउने उनले जानकारी दिए । चैन १९ देखि तीन महिनासम्म रनवेको उत्तरी विन्दुबाट काम हुने भएकाले कुनै पनि विमानले अवतरण गर्न पाउने छैनन् ।

‘निर्माण सम्पन्न भएपछि दक्षिणतिर तीन सय मिटर लम्बाई बढ्छ,’ उनले भने,’ रनवेको 'इनवे'सम्म ट्याक्सी वे जोडेकाले गर्दा जहाजहरूले हिँडेर फेरि टेक अफ गर्नु पर्दैन । रनवेमा प्रवेश गरेपछि जहाजले सिधा उडान भर्न सक्छन् । रनवेको अकुपेन्सी समय घट्छ । चार मिनेटमा हुने उडान अब एकदेखि डेढ मिनेटमा उड्न सक्छ ।‘

ट्राफिक ह्यान्डिलिङको क्षमतासमेत बढ्ने भूलले बताए । ‘हाल प्रतिघण्टा ३५ वटा जहाजले उडान भरिरहेका छन् । धावनमार्ग निर्माण सम्पन्न भएपछि घण्टाको ७० वटा उडान हुन्छ,’ उनले सुनाए ।

रनवेको निर्माण सम्पन्न भएपछि लम्बाई कुल तीन हजार ६७४ मिटर हुने भूलले जानकारी दिए । हाल रनवे ३ हजार ७४ मिटरको लम्बाई छ । निर्माण अवधिभर ठूला जहाजले आफ्नो आवश्यकता अनुसार काम गर्नुपर्ने उनले बताए । तीन हजार ७४ रनवे भएको ठाउँमा अब भने २८ सय ३९ मिटरको रनवे हुनेछ ।

‘हावाको गति बढी हुँदा, तापक्रम बढी हुँदा र लोड बढी भएको अवस्थामा जहाजहरूले एक्स्ट्रा प्रिअक्सन लिनुपर्छ भनेर प्रकाशन गरेका छौँ,’ उनले अगाडि थपे,’ कुनैबेला लोड पेनाल्टी पर्न सक्छ । जति लोड बोक्नुपर्ने हो त्यति नबोक्न सक्छ । जहाजअनुसार पनि हुन्छ । सामान्यतया २८३९ मिटरको रनवेमा जहाज अवतरण गर्न सक्छन् ।‘

आन्तरिक उडानका लागि भने यसले केही असर नगर्ने भूलको भनाइ छ ।

उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले २ सय ३६ मिटर धावनमार्ग चैत-१९ (अप्रिल १) देखि छोटो हुने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत यो सूचना उड्डयनसँग सम्बन्धित प्रकाशन एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x