राजनीतिमा हैन मान्छेलाई नेतामा वितृष्णा छ
निर्देशक दीपेन्द्र लामाको निर्देशन रहेको ‘नांगो गाउँ’ भदौ २९ मा प्रदर्शन हुँदैछ । सामाजिक मुद्दामा फिल्म बनाउँदै आएका लामाले यो पटक भने समाजका साना मुद्दा छाडेर नेपाली समाजलाई बृहत्तर रूपमा प्रभावित गरिरहेको राजनीतिलाई कथाको केन्द्रमा राखेका छन् । उनले चलचित्रले समाजलाई पनि निर्देशित गर्नुपर्छ र निश्चित मुद्दामा धारणा बनाउन भूमिका खेल्नुपर्छ भन्ने आग्रह अनुरूप फिल्म बनाएको बताएका छन् । कुनै समय चलचित्र पत्रकारिता र समीक्षकको रूपमा लामो समय योगदान गरेका फिल्मका लेखक तथा निर्देशक लामासँग इकागजले यही फिल्म र देशको राजनीतिप्रति राखिनुपर्ने दृष्टिकोणको बारेमा कुराकानी गरेको थियो । सोही कुराकानीका मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
राजनीति संसारकै सबैभन्दा ‘प्रडिक्टेबल’ कथा हो । यसका पात्र र परिणामको बारेमा दर्शक पहिले नै जानकार हुन्छन् । यस्तोमा के आँटले राजनीतिक विषयमा फिल्म बनाउनु भयो ?
सर्जकको रूपमा खेल्ने मैदान नै यही भन्ने लाग्छ मलाई । किनकि थाहा पाइराखेको विषय हुँदा यसमा ‘कनेक्टिभिटी’को समस्या हुन्न । राजनीतिसँग हरकोही हामी जोडिएकै हुन्छौँ । तर यसमा चुनौती यही हुन्छ कि पर्दामा यो कुरालाई कसरी रोचक तरिकाले भन्ने । हामीले रोचक तरिकाले यही कथालाई पनि भन्न सक्छौँ भन्ने लागेकाले पनि ‘नांगो गाउँ’ बनाएका हौँ ।
तर, पछिल्लो समय राजनीति भन्यो कि मान्छे नाक खुम्च्याउने र तर्किने समस्या छ । फिल्मसँग पनि तर्किएलान् नी ?
यसमा मेरो बुझाइ फरक छ । मान्छेले राजनीति भनेर मुख लेप्रयाएको होइन । मान्छेलाई हो । राजनीतिप्रति हैन राजनीति गर्ने मान्छेप्रति वितृष्णा हो । राजनीतिलाई मतलब नै नगरेको भए न बालेन शाहको उदाहरण हुन्थ्यो न हर्क साम्पाङको । त्यसैले मान्छेलाई राजनीतिमा रुचि छैन भन्यो भने हामीले समाजलाई सही रूपमा बुझिरहेका छैनौँ । यत्ति हो कि यसलाई हामीले पट्यार लाग्दो गरी भन्न भएन । किनकि सिनेमा कथावाचनसँगै मनोरञ्जनको माध्यम पनि हो । दुवैमा सन्तुलन हुन जरुरी छ ।
‘नांगो गाउँ’मा तपाईँले उठाएको राजनीति विषयको आयतन कहाँसम्मको हो ? यसले केन्द्रको राजनीतिको कुरा गर्छ कि स्थानीय निकायको ?
यो गाउँ स्तरीय राजनीतिको कथा हो । तर सानो ठाउँको कथा भनिरहँदा यसले बृहत्तर क्षेत्र वा केन्द्रलाई नसमेट्ने भन्ने होइन । किनकि केन्द्रमा होस् वा प्रदेशमा राजनीतिको मूल प्रकृति एकै हुनेगर्छ । हामीले भने चलचित्रमा देखिने भन्दा नदेखिने चलखेलको कथा प्रस्तुत गर्ने प्रयास गरेका छौँ । जुन त्यो गतिविधि भोग्नेलाई आफ्नै कथा भने जस्तो लाग्छ भने हेर्नेलाई पनि यस्तो पनि हुनेरैछ भन्ने महसुस हुन्छ । ‘नांगो गाउँ’ नागरिकको चेतलाई झटारो पनि हो ।
अलिकति कथाको रचनागर्भको कुरा गरौँ न त । यो कथामा सिनेमा नै बनाउँछु भन्ने अठोट के चिजले दियो ? यस्तो केही घटना पो थियो कि ?
एकदमै एउटा घटना वा भुक्तभोगी भएका कारण यो कथा सिर्जना भएको हैन । यसमा कल्पना र यथार्थ दुवैको मिश्रण छ । यथार्थको कुरा गर्ने हो भने म भोटर आइडी भएको नागरिक हुँ । जहिलेदेखि भोट हाल्ने अधिकार पाएँ त्यो समयदेखि नछुटाई भोट हाल्दै आइरहेको छु । अघिल्लो साल पनि स्थानीय निकायको चुनावमा भोट हाल्न म बारा गएँ । फेरि संसद्को चुनावमा पनि भोट हालेँ । स्थानीय निकायको चुनावमा बारामा मेरो मामाहरू नै उम्मेदवार हुनुहुन्थ्यो । यो हिसाबले चुनावको समयमा बाहिर के हुन्छ र भित्र के हुन्छ मलाई धेरथोर जानकारी छ । अनि चुनावमा नांगने कुरा चाहिँ आलाङ्कारिक हो ।
साँच्ची चुनावमा नाङ्गिने कुरा चाहिँ अलि अतिरञ्जना नै भयो नी हैन ? चुनावमा यस्तो बाजी त कसैले राख्दैन नी ?
राख्दैन । यहाँ हामीले नाङ्गिन कुरालाई लाक्षणिक रूपमा प्रस्तुत गर्न खोजेका हौँ । राजनीतिमा जितको अंक गणित हुन्छ तर भावमा यसका अनेक आयाम हुन्छन् । जितेको मान्छे सधैं जित्दैन र हारेको मान्छे नहार्न पनि सक्छ ।
अघिल्लो पटकको काठमाडौँ महानगरपालिकाको चुनावमा गणितमा विद्यासुन्दर शाक्यको जित भयो र रञ्जु दर्शनाको हार । तर, गहिरो गरी हेर्ने हो रञ्जुले हारेर पनि जितेकी छिन् । विद्यासुन्दर जितेर पनि हारे ।
फिल्ममा चाहिँ को नाङ्गिलान् त ?
यो चाहिँ सस्पेन्स भो । तर यत्ति संकेत चाहिँ दिइहालुँ । कतिपय चुनावमा नेताहरू मात्र नाङ्गिएका छैनन् जनता पनि नाङ्गिएका छन् । जित्नै नपर्ने नेतालाई भारी बहुमतले जिताउनु भनेको जनता नाङ्गिएको प्रमाण हो । नत्र वर्षौँ वर्ष जितेर पनि देश र जनताका लागि रत्तिभर पनि नसोच्नेलाई, किन जनताले हरेकपल्ट जिताएर पठाउने ?
मतलब तपाईँ जनता नै खराब भन्न खोजिरहनु भएको छ ?
हो, मेरो फिल्मको एउटा झटारो जनतालाई नै हो । बारम्बार अक्षम भनिएका मानिसलाई हामीले कुन विश्वासले ५०–६० वर्षदेखि जिताइरहेका छौँ ? उनीले के गरे, के गर्न बाँकी थियो र हामी उनीहरूको भरोसा गरिरहेका छौँ । त्यसैले मेरो फिल्मले जनतालाई प्रश्न गर्छ ।
नेपाली जनतामा यस्तो विचलन चाहिँ किन छ ? जनताको चेतनास्तर पुगेन भनौँ भने यत्रा यत्रा परिवर्तन हाँकेको छ ? तपाईँलाई के लाग्छ ?
हुन त यो कुराको सही जवाफ समाजशास्त्रीले राम्ररी देलान् । तर मलाई के लाग्छ भने नेपाली समाज भनेको बलेको आगो ताप्ने समाज हो । अवसरवादी पनि हो । जता मल्खु उतै ढल्कु वाला चरित्र छ । अनि मेहनत भन्दा पनि चाकडीमा धेरै भरोसा राख्छौँ । आफू अक्षम भएर प्रतिस्पर्धा गर्न सक्दैन तर सारा फेभर उसैलाई चाहिन्छ । यही कारण जता शक्ति देख्यौ त्यतै ढल्कन्छ । यसले गर्दा नेपाली राजनीतिमा विचलन छ ।
राजनीति छाडेर अलिकति कलाकारको कुरा गरौँ । दयाहाङ राईलाई आजभोलि ट्रेलरमा हँसाउने पन्चलाइन मात्र बोलिरहेको सुनिन्छ । यो फिल्ममा भने अलि साहित्यिक अन्दाजमा बोलाएको जस्तो महसुस हुन्छ ? दयाहाङलाई चरित्र कसरी ब्रिफ गर्नु भएको थियो ?
दयाजी आफैँ राजनीतिक रूपमा सचेत कलाकार हो । फिल्म भित्र भने उहाँले शिक्षकको भूमिका निर्वाह गर्नु भएको छ जसले अचानक चुनाव लड्ने बाध्यता आइपर्छ । शिक्षकका दृश्य खिचिरहँदा चाहिँ धेरैले दयाजीले दुरुस्तै गर्नु भएको प्रतिक्रिया दिनु भएको छ । मेरो चाहिँ दयाजीसँग लामै संगत भएकाले मैले खुट्याउन सकिँन । तर सुटिङ हेर्न आउने गाउँलेले पनि शिक्षक नै लागेको प्रतिक्रिया दिनु भएको थियो । उहाँले देखी भोगी आएको चरित्र भएकाले चरित्रमा त त्यस्तो केही गर्नु परेन । जे गर्नु थियो हामीले नै गर्यौँ ।
जस्तो ?
जस्तो ट्रेलरमा हेर्नु भयो भने यो ४० वर्षदेखि गाउँमा रजाइँ गरिरहेको जरी लामाको चरित्र र पहिलो चोटि चुनाव लडिरहेका पासाङको चरित्रबीचको लडाइँ हो । जरीले परम्परागत शक्तिको प्रतिनिधित्व गर्छ भने पासाङले परिवर्तनकारी शक्तिको । यो कुरा बताउनलाई हामीले जरी लामालाई पहेँलो रङसँग खेलाएका छौँ भने पासाङको चरित्रलाई निलो । २०३६ सालको जनमत संग्रहमा सुधारिएको पञ्चायतको रङ पहेँलो थियो भने बहुदलीय व्यवस्थाको निलो । यो कुरा चरित्रले लगाउने लुगादेखि आर्टमा पनि अभिव्यक्त गर्ने प्रयास गरेका छौँ ।
अनि साम्राज्ञीराज्य लक्ष्मी शाहसँग काम गर्दाको अनुभव चाहिँ कस्तो रह्यो ?
एकदमै राम्रो । पहिला त पारिश्रमिकको कुरादेखि लिएर उनको एप्रोचको कुरालाई लिएर पनि आशंका थिए । तर मैले उनलाई एकदमै समर्पित र समयको पक्का पाएँ । भनेको कुरा गर्नलाई पनि तुरुन्तै तयार भइहाल्ने । मैले उनका पुराना काम पनि हेरेको छु । यस हिसाबले पनि उनले परिपक्व काम गरेको महसुस गरेको छु ।
अब अन्त्यमा अलिकति बजारको कुरा गरौँ । अघिल्लो हप्ता ठूलो बलिउड फिल्म छ र सँगै ‘एक भगवत् गीता’ पनि । बजार खुम्चने कुराले कत्तिको सताएको छ ?
सताउन त सताइहाल्छ तर पनि अन्तिममा यो सबै कुराको निर्णय दर्शकले गर्नुहुन्छ । व्यक्तिगत रूपमा मलाई ‘नांगो गाउँ र ‘एक भगवत् गीता’दुवै चल्नुपर्छ भन्ने लाग्छ । भर्खरै पनि हामीले भारतमा हेर्यौँ ४–४ वटा ठूला फिल्म रिलिज भएका थिए र चारवटै फिल्मले राम्रो व्यापार गरे । यो दर्शकको दायरा बढाउने अवसर हो । बजार जति छ त्यति नै बाँडीचुँडी खाने हो । लोभ त लाग्छ तर मलाई सीमितता पनि थाहा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया