अनियमितता

भ्रष्टाचार मुद्दा लाग्यो नक्कली प्रमाणधारी सब–इन्जिनियरलाई

इकागज |
साउन २५, २०७९ बुधबार १६:७ बजे

काठमाडौंं– खानेपानी तथा सरसफाई डिभिजन नं. २ ओखलढुंगाका एक पूर्व सब–इन्जिनियर प्रमाणपत्र नक्कली भेटिएपछि भ्रष्टाचार मुद्दा लागेको छ । सब–इन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्रबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी नक्कली भएको दाबी गरेको छ ।

आयोगका अनुसार यादवले सुनसरी टेक्निकल कलेज, धरानबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गका प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्टसमेत नक्कली बनाएका थिए । तिनले तिनैका प्रमाणपत्रका आधारमा सरकारी लाभ वा सुविधा प्राप्त लिएका थिए । 


यादव, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा २०७६ देखि २०७७ असार मसान्तसम्म कार्यरत रहेका थिए ।

आयोगले यादवलाई ‘झुट्टा विवरण’का आधारमा सरकारी लाभ लिएको अभियोग लगाएको हो । भ्रष्टाचार निवारणमा झुट्टा प्रमाणपत्र पेश गरेमा कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
 


Author

थप समाचार
x