साहित्य

रमेशको `अन्तर´मा यौनिक अल्पसंख्यकका जीवनचरित्र

इकागज |
साउन ६, २०८० शनिबार १३:१६ बजे

गैंडाकोट । `अन्तर´ युवा लेखक रमेश सायनको अवतार भएको लेखक भूपिनले बताएका छन् । अक्षर समूह चितवनले शनिबार नारायणी रिसोर्ट गैंडाकोटमा आयोजना गरेको 'अन्तर' उपन्यासको अन्तर्क्रिया कार्यक्रममा लेखक भूपिनले सायनको लेखनमा अवतार भएको बताएका हुन् । `भागेर भूगोलभरी´ कवितासङ्ग्रह र `छुटेका अनुहार´ निबन्धसङ्ग्रह प्रकाशन गरेका सायनको अन्तर तेस्रो पुस्तक हो । अन्तरमा यौनिक अल्पसंख्यकको जीवनचित्रलाई कथानक बनाइएको छ ।

यौनिक अल्पसंख्यकको यौन जीवनलाई प्राथमिकतामा राखेर उपन्यास लेखिएको वक्ता भूपिनले बताए । `यौनिक अल्पसंख्यकको जीवन प्रेमबाट कम र यौनबाट धेरै चल्छ भन्ने प्रसङ्गलाई लेखकले प्राथमिकताका साथ लेख्नुभएको छ´, भूपिनले बताए । अर्थराजनीतिलाई पनि पुस्तकमा प्रष्ट ढंगले उल्लेख गरिएको भूपिनले बताए ।


पुस्तकमाथि टिप्पणी राख्दै वसन्त पराजुलीले यौनिक अल्पसंख्यकको पहिचानलाई पुस्तकले सम्बोधन गरेको बताए । अर्का टिप्पणीकार प्रेम सिग्देलले उपन्यासमा उठाइएका विषयवस्तु अश्लील नभई समाजको वास्तविक चित्रण भएको बताए । कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले लेखक सायनको लेखनशिल्प काव्यिक भएको बताए ।

कार्यक्रमका सभापति रमेश प्रभातले यौनिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताए । `यिनै अल्पसंख्यकको विषयवस्तुमा लेखक सायनले राम्रो उपन्यास लेखेका छन्´, प्रभातले भने । कार्यक्रमलाई अक्षर समूह चितवनका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।


Author

थप समाचार
x