साहित्य

पुस्तक समीक्षा

नारायण गोपाल : केही उत्सुकता, केही अस्पष्टता

सुरेन्द्र नेपाल श्रेष्ठ |
माघ १०, २०८१ बिहीबार १२:५७ बजे

लेखक प्रकाश सायमीले नारायण गोपालको जीवनी लेख्ने चर्चा चलेदेखि नै कहिले आउला भन्ने लागि रह्यो । यसबीचमा उहाँ बेलायत हुँदै युरोपका विभिन्न देशहरूको यात्रामा निस्कनु भयो । कहिँ कतै एक पटक भेट्ने मन भएपनि सम्भव भएन । हुन पनि त्यति छोटो समयमा उहाँहरू यति धेरै देश र ठाउँहरू घुम्नु भयो जहाँ हामी आजसम्म पनि पुगेका छैनौं ।

म आफु काममा अलि बढी व्यस्त भएर पनि होला अपर्झट समय मिलाउन सकिएन । त्यसो त हामीबीच प्रत्यक्ष चिनजान भने छैन । म्यासेन्जरमा सम्पर्क चाँही भएको छ । ३९/४१ सालतिर कलेज पढ्दा उहाँ आरआर म ल कलेजमा । विशेषत्‌ विद्यार्थी राजनीतिमा हामी फरक फरक मन्चमा हुन्थ्यौं, त्यसैले पनि भेटघाट भएन ।


मलाई त्यति बेलादेखि नै उहाँको स्वर अनि प्रस्तुत गर्ने शैली गजब मन पर्थ्यो । अहिलेसम्म पनि नबिराईकन अन्तरवार्ताहरू सुन्ने गरेको छु । उहाँको नेपाल मात्र हैन भारतको सिने जगतको पनि अति शुष्म ढंगले विश्लेषण गर्ने सामर्थ्य  देखेर उदेक लाग्दछ । नेपाली गीत संगीतको त किरो नै भयो । नारायण गोपालप्रतिको उहाँको सम्मान र लगाब त गजब नै छ । अर्को पटक बेलायत आउने जानकारी पाए भने चाहि उहाँलाई विन्जर, इट्न ,म्याग्नाकार्टा अनि सन् १६३२ देखि ३८ सम्म कवि जोहन मिल्टन बसेको घर देखाउने रहर पुरा गर्नेछु ।  

पुस्तक प्रकाशन भएको केही हप्तापछि मेरो नाममा दुई वटा पुस्तक बेलायत आइपुग्यो । पहिलो पुस्तक ल्याइदिन्छु भन्ने साथी घरायसी कारणले अलिपछि आउने थाहा भएर अर्को साथीलाई अनुरोध गरें । दोश्रो साथीसँग भेटघाट पनि अलि छिटो भयो र पुस्तक प्राप्त गरेर पढि हालें । सम्भवत्‌ मैले आजसम्म सबभन्दा छिटो पढेको पुस्तक बनेको छ यो । मेरो बानी फेरि अलि चिने जानेको लेखकको पुस्तक चाहिँ अक्षर अक्षर पढेर केही गडबडी छन् भने सुझाव दिने चलन छ । यसमा पनि मैले तुरुन्तै उहाँलाई पछिको लागि सजिलो होस् भनेर प्रत्येकको पेज नम्बरसहित फोटो खिचेर पठाएको छु । जसमध्ये केही शब्दहरू उहाँले नविन ढंगले प्रयोग गरेको कारण अनि केही प्रसङ्गबारे मलाई थाहा नभएको कारण प्रश्न सोधिएछ । यसबारे उहाँले एउटा युट्युब लाइभमा पनि उल्लेख गर्नु भएको थियो । कतिपय टाइपमा देखिएका कमजोरीहरू त दोश्रो संस्करणमा सुधारिने नै छ । दोश्रो पुस्तक भने अहिलेसम्म पनि मेरो हातमा परेको छैन ।
 
नारायण गोपालको प्रसङ्ग आउने बित्तिकै म केही पुराना यादहरूमा डुब्ने गरेको छु । आठ नौ कक्षातिर पढ्दादेखि नै त्यतिखेर प्रख्यात प्राय उहाँकै गीतहरू हामी साथीहरू कक्षा कोठामा टेबल ठोकेर खुब गाउँथ्यौं । प्रज्ञा भवनमा भएको उनको एक मात्र सार्वजनिक सोलो कार्यक्रम  स्वर्णिम सन्ध्याको समय हामी दिनभर चौतारा मुनिको कामी गाउँमा पानीधारा सरसफाइ तथा पुन:निर्माणमा गाउँभरका मानिसहरू स्वयमसेवा अथवा श्रमदानमा जम्मा भएका थियौँ । साँझ हतार हतार गरि टिभी भएको साहुजीको घरमा गएर धेरै जनाले हेरेका थियौँ ।

नेपाल बैंकमा  जागिरे भएर दोलखाको गुमु खोलामा भएको बेला उहाँलाई हस्पिटल लगेको खबर आयो । केही दिनपछि बित्नुभयो । मैले उहाँको सम्मानमा खाना खाइन् । बेलायत आएपछि पहिलो चार वर्ष म एक्लो थिएँ । काम गर्ने ठाउँमा पनि विरहका गीतहरू गाउने गर्दा साथीहरू तिमी त कति खुशी हो जहिले पनि गुनगुनाई रहेको भन्थे । मनमनले चाहीँ मैले कस्तो गीत गाइ रहेको छु तिमीहरूलाई के थाहा ? भन्ने गर्थें । बिशेषत जमघट हुँदा मालती मंगलेको "आज भोलि दुख्दैन गोडा, मैल काँडा टेके पनि" भन्ने गीत धेरै पटक गाइयो । अहिले पनि पुराना साथीहरू भेट भयो भने त्यो गीत फर्माइस गर्दछन् । मलाइ पनि खुब मनपर्छ ।

१३ देखि ३८६ पृष्ठ नम्बर लेखिएको पुस्तकको खाली पाना पनि जोड्ने हो भने यो ३९४ अर्थात् १९७ पृष्ठ भएको छ । गीतकार नरेन्द्र थापाको “किताब नै बोल्छ” बाट सुरु भएको यो पुस्तकमा अन्य पुस्तकहरूमा जस्तो औपचारिकताका अध्यायहरू छैनन् । अन्तिम पृष्ठमा यस पुस्तकको अग्रभागमा प्रयोग गरिएको नारायण गोपालको स्केच तयार गर्ने चित्रकार शशी शाहको बारेमा केही जानकारी दिइएको छ । त्यसभन्दा अगाडिको पृष्ठमा लेखक स्वयम्‌को अति संक्षिप्त परिचय राखिएको छ ।

पुस्तकमा संलग्न करिब ८१ वटा तस्विरहरूले नारायण गोपाल, उनका परिवार, साथीभाइ तथा विभिन्न कालखण्डमा भएका घटनाहरूको प्रमाण प्रस्तुत गरेका छन् । सन् १९६६ जुलाई १८ मा साथी नरेन्द्र थापाको पत्रको जवाफसहित कार्यक्रमका केही सूचना अनि पत्रपत्रिकामा आएका खबरहरूको फोटो पनि समावेश गरिएको छ ।

मलाई सबैभन्दा मन परेको पुस्तकको अध्याय भनेको नारायण गोपालले गाएका १३३ वटा हिट गीतका रचनाकारहरूको विवरण समेटिएको भाग हो । जसमा अत्यन्तै चलेका धेरैजसो गीतका रचनाकारहरूको एउटा मात्र गीत देख्दा अचम्म लाग्यो  । १८ जना प्रसिद्ध रचनाकारहरूको एक-एक गीत नै अत्यन्त सफल भएको देखिन्छ । त्यस्तै, दुई/दुई  जना रचनाकारहरूले संयुक्त रूपमा दुई वटा गीत लेखेका छन् । सबैभन्दा धेरै गीत नारायण गोपालका मित्र अर्थात् मितज्यू  गोपाल योञ्जनका २२ वटा गीत रहेको छ । त्यस्तै उनले ११ वटा चलचित्रका गीतमा स्वर भरेका छन् । कतिपय गीतहरूको बारेमा पुस्तकमा लेखिएको भए पनि ती गीत आफैँले नसुनेको जस्तो लागेर, पुस्तक पढ्दै युट्युबमा ती गीतहरू सुन्नुको मज्जा पनि बिल्कुल फरक अनुभव भएको छ ।

केही जीवनकथाका पुस्तकहरू शृंखलाबद्ध रूपमा लेखिनुका कारण कतिपय अवस्थामा पढ्न त्यति उत्साह जाग्दैन । यदि जीवनका महत्त्वपूर्ण घटनाहरू मात्र उल्लेख गरिने हो भने पाठकहरूको पढ्ने रुचि कायम राख्न सजिलो हुन्छ । यस पुस्तकमा नारायण गोपालको जीवनकालका ५५ प्रसंगहरू, मृत्यु र बिदाइका तीन, उनका गीतहरू उनले पाएका सम्मानहरू र पुस्तक लेखनमा प्रकट गरिएका कृतज्ञता गरी जम्मा ६२ शीर्षक समावेश छन् । तर, यी सबै हिसाब पाठकले आफैं गर्नुपर्ने हुन्छ । शीर्षकसँग सम्बन्धित क्रम संख्या र पृष्ठ संख्या उल्लेख भने गरिएको छैन । कुनै प्रसंगबारे पुन जानकारी लिन पर्‍यो भने चाहीँ अलि थप समय लाग्ने छ ।

कोहीसँग सन्तानबारे कुरा हुँदा छोराछोरी होइन छुरा छुरी हो, कमाएर पाल्न सकिएन भने पनि खतरा । सम्पत्ति भयो भने बुढेसकालमा छुरा लिएर सम्पत्ति माग्न आउँछन् ।

मलाई लागेको एउटा प्रश्न यहाँ पनि उल्लेख गर्न मन लाग्यो । विवाहपछि पोखरामा भूपि शेरचनको घर छाडेर नयाँ डेरा लिएपछि विद्यालयमा जागिर खाएको प्रसंग "पोखरा प्रवास-२" अध्यायमा उल्लेख गरिएको छ । शुरुमा नारायण गोपालले सोल्जर्स स्कूल अमरसिंह (भूपू सैनिक विद्यालय) र पेमला भाउजूले रत्न राज्य लक्ष्मी स्कूलमा पढाएको कुरा पुस्तकमा लेखिएको छ । नारायण गोपालले राम्रोसँग पढाउन नसक्ने भएकाले उनलाई “गोब्रे सर” भनेर बोलाउने गरेको कुरा उनका विद्यार्थी डा. गणेश गुरुङले सम्झनामा उल्लेख गरेका छन् । गुरुङका अनुसार नारायण गोपालले पढाएर जानु भएपछि एक सुन्दरी  शिक्षिका आएर अघि पढाएको बुझिएन भने मलाइ सोध्नु तर प्रिन्सिपललाई गुनासो नगर्नू भन्ने गरेको उल्लेख छ । यस प्रसंगबाट दुवैले एउटै विद्यालयमा काम गर्थे वा पेमला भाउजुले दुई विद्यालयमा काम गर्नु हुन्थ्यो ? यसबारे पुस्तकले स्पष्टता दिएको छैन ।

अर्को एउटा प्रसङ्ग त्यतिबेला उहाँहरूको विवाहमा कति पैसा खर्च भयो होला भन्ने लागेको छ । पुस्तकमा उल्लेख गरे अनुसार घरबाट एक पैसा पनि नबोकी एउटा सुटकेश मात्र बोकेर नरेन्द्र थापाको डेरामा पुग्छन् । दुई दिन त्यहिँ बस्छन् । केही दिन अगाडि "मितजूयु नाइट"बाट हार्मोनियमसहित अन्य खर्च गरेर बचेको २३/२४ हजार आफुसँग भएको जानकारी नरेन्द्र थापाले दिँदा नारायण गोपालले त्यतिले अलि नपुग्लाकि भनेपछि कृष्णभक्त श्रेष्ठ सँग ६/७ हजार सापट लिएर पठाएको नरेन्द्र थापाले बताएका छन् । त्यति बेलाको अवस्थामा एकतीस हजार रुपैयाँ भनेको  चानचुने रकम होइन् । दार्जलिङमा विवाह हुँदा बाहुनले बेहुलीलाई के-के ल्याएको छ दिनु होलाभन्दा एउटा खल्तीबाट सिन्दुर र अर्को गोजीबाट औँठी झिकेको प्रसङ्ग उल्लेख भए अनुसार विवाहमा खासै धेरै खर्च भए जस्तो देखिँदैन । त्यहाँ लामो समय बसेको पनि देखिँदैन । पोखरा आएको केही समयपछि जागिर खान थालेको कारण आर्थिक रुपमा त्यति ठूलो समस्या भोग्न भने नपरेको देखिन्छ ।

राजनीतिमा खासै संगलग्न नभए पनि दैनिक समाचारहरू भने निकै रुचिका साथ पढ्ने उनको बानी थियो । साथी प्रेमध्वजको काका भक्तध्वज प्रधानको चुनाव प्रचारमा २०१५ सालमा दुई महिनासम्म सिन्धुपाल्चोक बसेको प्रसंग मेरो घर पनि उतै भएकाले उल्लेख गर्न मन लाग्यो । पछि जनमत संग्रहमा उनले जनता हुने भए बहुदललाई रैती हुने भए निर्दललाई भोट दिनु भन्ने गरेबाट उनको राजनीतिक रुझान बुझ्न सकिन्छ । ख्यालठट्टा गर्नपर्ने नारायण गोपालले एक पत्रकारले सोधेको प्रश्नको जवाफ साह्रै घतलाग्दो लाग्यो । राम्रो गाउने गायिकालाई कोइली भनिन्छ भने राम्रो गाउने गायकलाई के भनिन्छ भनेर सोध्दा उनले कोइला भन्नुपर्छ, रक्सी खाँदाखाँदै गायकको कलेजो डढिसकेको हुन्छ भनेर आफ्नो बढी पिउने बानीलाई पनि सहर्ष प्रचार गरेको देखिन्छ ।

हुन त छोरा छोरीले बाबु आमाको बाटो नै पछ्याउँछन् भन्ने छैन तर यति विशाल इतिहास रचना गर्न सफल नारायण गोपाल जोडिको उत्तराधिकारी नहुनु दु:खको विषय हो । एक पटक गर्भवती भएपनि असफल भएपछि पुन: त्यो अवसर जुरेन । धेरैले धर्म सन्तान पाल्ने सल्लाह दिएपनि आफ्नो सिर्जनालाई नै सन्तान मान्ने निर्णयमा पुग्छन् । प्रसंगबस कोहीसँग सन्तानबारे कुरा हुँदा छोराछोरी होइन छुरा छुरी हो, कमाएर पाल्न सकिएन भने पनि खतरा । सम्पत्ति भयो भने बुढेसकालमा छुरा लिएर सम्पत्ति माग्न आउँछन् । अनि देख्लाउ भनेर आफूलाई नै सान्त्वना दिने र समाजको यथार्थता उजागर गरेका छन् ।

पुस्तकको नाम नारायण गोपाल भए पनि प्रायः जस्तो समकालिन संगीत,गीतकार, गायक गायिकाहरूको परिचय यस पुस्तकले दिएको छ । विभिन्न साथीहरूसँगको सामिप्यता र दरारका कथाहरूले भरिपूर्ण छ यो पुस्तक । त्यतिबेला यस क्षेत्र भित्र झाँगिएका विवादहरू अनि त्यस अनुसार नजिक र टाढा हुने व्यक्तिगत सम्बन्धहरूबारे धेरै प्रसङ्गहरू उठाइएको छ ।

समाजमा त्यति ठूलो मानसम्मान पाएकाहरूको वास्तविक जीवनको उतारचढाव र व्यक्तिगत गुण दोषबारे बुझ्ने माध्यम पनि बनेको छ यो पुस्तक । यति धेरै नामहरू जोडिएको यस पुस्तकमा नेपाली गायन संगीत क्षेत्रमा निकै स्थापित मध्य दुई नाम बच्चु कैलाश र दीप श्रेष्ठको प्रसङ्ग भने कतै उल्लेख भएको देखिँदैन ।

पुस्तकमा लेखिएका धेरै विषयहरू उठाउँदा पाठकहरूको कौतूहलतामा कमी हुनसक्ने यथार्थतालाई महसुस गर्दै मलाई घत लागेका र मनमा प्रश्न उठेका थोरै विषयहरूबारे चर्चा गरियो अब बाँकी जानकारीको लागि यो पुस्तक एक पटक जसरी भए पनि पढ्नैपर्ने हुन्छ । नारायण गोपालका विविध बिषयबारे जानकारी दिन सफल लेखक प्रकाश सायमीलाई धन्यवादसहित आउँदो संस्करणको लागि अग्रिम शुभकामना ।

श्रेष्ठका अन्य लेखहरू


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x