मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-७

मनमोहनले भरतमोहनलाई भने, डु यु नो हुम आर यु टकिङ टु ?

केशव आचार्य |
बैशाख १३, २०७८ १८:१७ बजे

मनमोहन अधिकारीलाई मैले २०२६ सालमा विराटनगरमा चिनेको हुँ । २०२६ देखि २०२९ सालसम्म विराटनगरको महेन्द्र मोरङ कलेजमा स्नातक अध्ययन गर्ने क्रममा मैले उहाँलाई थुप्रैपटक देखे पनि व्यक्तिगत चिनजान भने थिएन । विराटनगरमा कोइराला परिवार, मनमोहन अधिकारीहरूको परिवार राजनीतिको केन्द्रबिन्दु मानिन्थ्यो । २००४ सालमा मजदुर आन्दोलनदेखि नै विराटनगरमा राजनीतिक सरगर्मी सुरु भएको थियो । 

मलाई मनमोहन अधिकारीको व्यक्तित्व अरु राजनीतिकर्मीभन्दा बिलकुल फरक लाग्थ्यो । उहाँ दृढ आत्मविश्वाससहितको अद्भुत नेता हुनुहुन्थ्यो । साँझ–बिहान वाकमा निस्कँदा प्रायः एक्लै हिँडिरहेको देख्थेँ । हिँड्दा चटक्क परेर लामो कोट लगाएर हिँड्नुहुन्थ्यो । जाडोमा टाई पनि बाँध्नुहुन्थ्यो । अग्लो, अलि–अलि दाह्री पालेको अचम्मको व्यक्तित्व थियो । मलाई त उहाँ ब्रिटिस जासुस सेरलक होम्स फिल्मको मुख्य पात्र जस्तो लाग्थ्यो । 


प्रायः नेताहरू समूहमा देखिनुहुन्थ्यो । कहिलेकाहीँ कृष्णप्रसाद भट्टराई (किसुनजी) पनि विराटनगर पुग्नुहुन्थ्यो, प्रायः उहाँहरू समूहमा हिँडेको देख्थेँ । किसुनजी पान पसलमा बसेर गफिइरहनुभएको देखिन्थ्यो । मनमोहन अधिकारीका अनुयायीहरू पनि उहाँसँगै हिँड्न चाहँदा रहेछन्, तर उहाँले टोल बजारमा अरूलाई समूहमा लिएर नहिँड्ने । ‘म तिमीहरूभन्दा स्वस्थ छु, एक्लै पनि हिँड्न सक्छु । सँगै आउनुपर्दैन’ भन्नुहुँदो रहेछ । कलेजमा अध्ययन गर्ने उहाँका अनुयायीहरूसँग मैले यो कुरा सुनेको हुँ । 

मनमोहन अधिकारी जेल परिरहनुहुन्थ्यो । जेलमा रहँदा पनि, नरहँदा पनि लखनउ, वनारस, कलकत्ताबाट किताब मगाएर पढिरहने, अध्ययनशील व्यक्तित्व थियो । म महेन्द्र मोरङ कलेजमा पढ्दा राजनीतिमा सक्रिय कतिपय विद्यार्थीसमेत जेल पर्थे । उनीहरू जेलबाट फर्केपछि कुरा गर्थे– मनमोहन अधिकारीले जेलमा विद्यार्थीहरूलाई राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र पढाउनुहुन्थ्यो रे !

अर्को अचम्मको प्रसंग के छ भने साधना प्रधान (मनमोहन अधिकारीकी अर्धांगिनी) आदर्श बालिका विद्यालय, विराटनगरमा शिक्षिका हुनुहुन्थ्यो । मेरो काका षडानन्द आचार्य त्यही विद्यालयमा विज्ञान र गणितको शिक्षक हुनुहुन्थ्यो । साधना अधिकारीले तलब आएको १२–१५ दिनपछि सापटी माग्नुहुन्थ्यो रे, अर्को महिनाको तलब आएपछि तिर्नेगरी । त्यतिबेला माध्यमिक शिक्षकको तलब पनि अढाइ–तीन सय रुपैयाँ हुँदो हो । 
मेरो काकाले बताएअनुसार, मनमोहन अधिकारीको घरमा नेता तथा कार्यकर्तालाई दालभात, तरकारी अचार खुवाउने जोहो साधना दिदीले र पान, चुरोट इत्यादिको जोहो मनमोहन अधिकारीले गर्नुपर्ने समझदारी थियो रे !

०००
मनमोहन अधिकारीसँग मेरो व्यक्तिगत सम्बन्ध बनेको २०५१ सालमा उहाँ प्रधानमन्त्री भएपछि हो । म नेपाल राष्ट्र बैंकमा थिए । बजेट निर्माणका लागि राष्ट्र बैंकबाट टोली बोलाउने चलन थियो । यसरी म पनि युवराज खतिवडा, गुरु न्यौपाने, गणेशकुमार श्रेष्ठ, गोविन्दबहादुर थापा लगायत सँगै बजेट निर्माणका लागि नेपाल राष्ट्र बैंकबाट अर्थ मन्त्रालय गएको थिएँ । बजेट निर्माणपछि अरू केन्द्रीय बैंकमै फर्किए, मलाई चाहिँ फर्कन दिएनन् । ‘तपाईं फर्कन पाउनुहुन्न, यहाँ सल्लाह चाहिरहन्छ । मन्त्रालयमै बसेर काम गर्नुस्,’ भनियो । यसरी मेरो आफ्नो चाहले भन्दा पनि अपहरित जस्तो भएर म सरकारमै रहेँ । डा. गोविन्दबहादुर थापाचाहिँ महेश आचार्य अर्थमन्त्री हुँदादेखि नै सल्लाहकार हुनुहुन्थ्यो । 

अग्लो, अलि–अलि दाह्री पालेको अचम्मको व्यक्तित्व थियो । मलाई त उहाँ ब्रिटिस जासुस सेरलक होम्स फिल्मको मुख्य पात्र जस्तो लाग्थ्यो । 

पञ्चायतकालदेखि नै अर्थ मन्त्रालयमा एकजना सल्लाहकार राष्ट्र बैंकबाट लैजाने चलन थियो । सत्येन्द्रप्यारा श्रेष्ठ यादवप्रसाद पन्त मन्त्री हुँदा जानुभएको थियो । गोविन्दप्रसाद लोहनी त अर्थ मन्त्रालयमा सल्लाहकार हुँदै योजना आयोगको सदस्य नै बन्नुभयो । 

म धेरैजसो अर्थ मन्त्रालयकै काममा हुन्थें । तर दुई हिसाबले प्रधानमन्त्रीसँग भेट हुन्थ्यो । सिंहदरबारमै प्रधानमन्त्रीको कार्यकक्षमा उपप्रधान, अर्थ, उद्योग मन्त्री  लगायतको छलफलमा जानुपथ्र्यो । कहिलेकाहीँ कार्यालय समयपछि पनि प्रधानमन्त्रीको निवासमा सल्लाहका लागि बोलाइरहेका हुन्थे । काम गर्दै जाँदा राती १२–१ बजेपछि भने प्रधानमन्त्रीको स्वास्थ्य समेत ख्याल राख्दै उहाँलाई धेरै इन्गेज गरिँदैनथ्यो । 

एउटा स्मरणीय पक्ष के छ भने निर्वाचनको समयमा माधवकुमार नेपालहरूले विश्व बैंकलाई अहिले अरुण तेस्रो जस्तो महत्वपूर्ण राष्ट्रिय आयोजनाको विषयमा निर्णय नलिनु भनेर पत्र लेख्नुभएछ । निर्वाचन घोषणा भैसकेकाले सरकार कामचलाऊ हैसियतमा छ भनेर उहाँहरूले पत्र लेखेपछि विश्व बैंकले अरुणमा लगानीबाट हात झिक्यो । पछि मनमोहन अधिकारी हेलिकप्टर दुर्घटनामा परेर टिचिङ अस्पतालमा उपचाररत रहेको भएको बेलामा विश्व बैंकका अध्यक्ष जेम्स वुल्फेनसनले फोन गरेर अरुणमा लगानी नगर्ने निर्णय सुनाएका थिए । त्यो भन्दा अगाडि नै अरुण आउने निश्चितता नभएपछि अब के गर्ने त भन्दा कालीगण्डकी आयोजना अघि बढाउने निधो भयो । 

त्यसपछि मन्त्रीहरू, मुख्यसचिव, सचिव लगायतको बैठकमा लगानीका लागि एसियाली विकास बैंक तयार रहेको भन्ने जानकारीमा आयो । त्यसपछि प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न भनेर तत्कालीन उपप्रधान, परराष्ट्र र रक्षा मन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री भरतमोहन अधिकारी र म बालुवाटार गयौं । उहाँहरूले ब्रिफिङ गर्ने क्रममा भरतमोहन अधिकारीले के भन्दै हुनुहुन्थ्यो (अहिले ठ्याक्कै याद गर्न सक्दिनँ) । मनमोहन अधिकारीले उहाँलाई झपार्न थाल्नुभयो, ‘लुक भरतमोहन ! डु यु नो हुम आर यु टकिङ टु ? यु आर टकिङ टु द प्राइममिनिस्टर अफ दिस कन्ट्री, यु सुड नो हाउ टु विहेभ विथ द प्राइममिनिस्टर !’ (हेर भरतमोहन ! तिमीलाई थाहा छ तिमी कोसँग कुरा गर्दैछौ ? तिमी यो देशको प्रधानमन्त्रीसँग कुरा गरिरहेका छौ, प्रधानमन्त्रीसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने तिमीलाई थाहा हुनुपर्छ ।) उहाँलाई भरतमोहनजीको के कुरामा भाँती पुगेन भन्ने लाग्यो, त्यसो भन्न थाल्नुभयो । 

उहाँले हिन्दीमा बोलेको चाहिँ मैंले सुनिनँ तर अंग्रेजी ‘फस्ट ल्यांग्वेज’ (पहिलो भाषा) जसरी बोल्नुहुन्थ्यो । उहाँ साह्रै सचेत र अनुशासित हुनुहुन्थ्यो । कालीगण्डकीबारे हामी ब्रिफिङ गर्न जाँदा पनि उहाँ अपडेट भएर बसिसक्नुभएको थियो । आफूले गर्नुपर्ने हरेक कामको जानकारी लिने, मिहीन ढङ्गले त्यसलाई बुझ्ने उहाँको अध्ययनशील बानी जीवनको उत्तरार्धसम्म नै थियो ।

०००
सन् १९९५ को सुरुवाततिर प्रधानमन्त्रीको चीन यात्रामा म पनि अर्थमन्त्रीसँगै गएको थिएँ । चीनमा ली फङ प्रधानमन्त्री र जियाङ जेमिन राष्ट्रपति हनुहुन्थ्यो । बेइजिङमा ग्रेट हल अफ द पिपुलमा दुई प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट गएको प्रतिनिधिमण्डलले वार्ता गर्‍यो । उक्त वार्तामा मनमोहन अधिकारीले दृढ आत्मविश्वासका साथ राष्ट्रको गरिमा उच्च राखेर कुरा गर्नुभयो । राष्ट्रपतिसँग उहाँको शिष्टाचार भेट भएको थियो भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ प्रधानमन्त्रीसहितको टोलीसँग उहाँले दह्रो आत्मविश्वासका साथ नेगोसिएसन गरेको देखेर म अत्यन्त प्रभावित भएँ । कुनै धक नमानी ‘अपरह्यान्ड’बाट आफ्नो कुरा राख्ने प्रधानमन्त्रीको रूपमा म उहाँलाई सम्झन्छु । 

चिनियाँ प्रधानमन्त्री ली फङसँग बैठक हुनु केही समयअघि नै हामी हलमा पुगिसकेका थियौँ । बैठकका लागि तोकिएको समय केही बेर बाँकी रहेकाले हामी एउटा कुनामा बसेर चुरोट तानिरहेका थियौँ । उहाँ औपचारिक पोशाक लगाएर अलिक चाँडै हलतर्फ आउँदै गर्दा हामीलाई देख्नुभयो र हामीलाई कुनै इज्जत, प्रतिष्ठाको ख्याल नगरेको भनेर गाली गर्नुभयो । मलाई पनि एकदम ग्लानी भयो, मैंले चुरोट फालिदिएँ । अरूले पनि हात पछाडि लगेर चुरोट लुकाउनुभयो । 

उहाँ प्रधानमन्त्री हुँदा भारतमा उहाँका समकक्षी पीभी नरसिंह राव हुनुहुन्थ्यो । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा म थिइनँ । पछि उक्त प्रतिनिधिमण्डलमा जानेहरूले सुनाएअनुसार भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको सामुन्नेमा सन् १९५० को नेपाल–भारत मैत्री सन्धि असमान रहेकाले खारेज गर्नुपर्छ भन्नुभएको थियो । यसरी प्रधानमन्त्रीको तहबाट द्विपक्षीय भेटघाटमा यो सवाल उठाउने उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो । जनसमर्थन पाएपछि उहाँमा आत्मविश्वास बढेको थियो । 

०००
म आफू कुनै इच्छा चाहनाले अर्थ मन्त्रालयमा गएको थिइँन । भर्खरै ४० वर्ष पुगेको थिएँ, राष्ट्र बैंकमा भर्खरै ‘फस्ट क्लास अफिसर’ भएको थिएँ । मैंले अर्थ मन्त्रालयमा सल्लाहकार बसेर के न्याय गर्न सकुँला र ? भन्ने लागेको थियो । मलाई चित्त दुखाइ के थियो भने प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको थिएन, उहाँलाई पार्टीले ५–७ जना सल्लाहकार राखिदिएको थियो । 

पार्टीका नेताहरूलाई ‘तिमीहरू एक ढिक्का भएर आऊ अनि मात्र म निर्णय लिन्छु’ भन्नुभएको थियो । उहाँले आफ्नो स्वतन्त्र इच्छा (फ्रि विल) ले काम पनि गर्न पाउनुभएन ।

उहाँको कुरा सुन्नेभन्दा पनि तिनीहरूले प्रधानमन्त्रीलाई नै सिकाउन खोज्थे । उहाँको सोचअनुसार राजनीति चलेको भए मुलुकमा ठूलो रूपान्तरण हुन्थ्यो । २०५४ सालतिर महाकाली सन्धिको प्रसंग आयो, त्यही विवाद झागिँदै जाँदा त्यो नेकपा एमालेको फुटको कारण पनि बन्यो । तर मनमोहन अधिकारी अन्तिमसम्म अडान लिएर बस्नुभएको थियो । पार्टीका नेताहरूलाई ‘तिमीहरू एक ढिक्का भएर आऊ अनि मात्र म निर्णय लिन्छु’ भन्नुभएको थियो । उहाँले आफ्नो स्वतन्त्र इच्छा (फ्रि विल) ले काम पनि गर्न पाउनुभएन । त्यस्तो स्वतन्त्र इच्छा भनेर उहाँमा कुनै ‘निरंकुश इच्छा’ थिएन । उहाँ पूर्णरूपले लोकतान्त्रिक छविको नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति प्रतिबद्ध । सबैको कुरा सुनेर त्यसलाई संश्लेषण गर्न सक्ने अद्भुत क्षमता उहाँसँग थियो । 

महाकाली सन्धि जसरी पनि पारित गर्नुपर्छ भन्ने केही नेताहरूको अडान र जबर्जस्तीका कारण उहाँले स्वतन्त्र ढङ्गले काम गर्न पाउनुभएन । तर उहाँले आफ्नो अडान अन्तिमसम्म पनि यथावत् राख्नुभएको थियो । उहाँ जीवन–मरणको दोसाँधमा त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । महाकाली सन्धि पारित गर्ने कि नगर्ने भनेर एमालेको कयौं दिनसम्म दिनभर–दिनभर बल्खुस्थित पार्टी कार्यालयमा बैठक हुन्थ्यो । 

उहाँ त अस्पतालमै हुनुहुन्थ्यो, अन्तिममा मतदानबाट टुंग्याउने भएपछि उहाँको नामबाट (प्रोक्सी)मा झापाका देवराज घिमिरेले मतदान गरेका रहेछन् । यस हिसाबले उहाँलाई स्वतन्त्र ढङ्गले काम गर्न नदिइएको मेरो निष्कर्ष हो । उहाँलाई स्वतन्त्र ढङ्गले काम गर्न दिइएको भए मुलुकको रूपान्तरणका लागि धेरै काम उहाँको नेतृत्वमा सम्पन्न हुने थिए । महाकाली सन्धिको ह्याङ्गओभर (धङधङी) हाम्रो परराष्ट्र तथा अर्थ नीतिमा आजपर्यन्त देखिन्छ । एमालेमा टुट–फुट विभाजन अहिले जे देखिन्छ, त्यसको जरो त्यहाँसम्म पुग्छ । 

००० 
मनमोहन अधिकारी नातावाद–कृपावादबाट धेरै टाढा रहनुभयो । उहाँको ज्वाइँ त्रिभुवन विश्वविद्यालयमा प्रोफेसर हुनुहुन्छ, उहाँको छोरा प्रकाशचन्द्र अधिकारी पनि भूगर्भशास्त्री हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुँदा ज्वाइँले राजदूत हुनुपर्‍यो, भन्नुभएछ । उहाँले ‘क्षमता र समर्पणविना नातावादमा पद दिन मिल्दैन’ भनेर गाली गरेर पठाइदिनुभएछ, त्यही कारण छोरी–ज्वाइँ उहाँकहाँ दसैँमा टीका लगाउन पनि गएनन् रे भन्ने सुनेको थिएँ । उहाँका दिदीबहिनी, नातागोता, आफन्त, ससुरालीहरूलाई पनि पद माग्न नआउन भन्नुहुन्थ्यो रे ! त्यसले गर्दा पारिवारिक सम्बन्धहरू पनि सखाप भएका थिए ।

०००
१९९३ को डिसेम्बरमा म अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को तालिममा वाशिंगटन डिसी गएको थिएँ । जयराज आचार्य संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधि हुनुहुन्थ्यो । म उहाँको घरमा पाहुना बनेर पनि गएको थिएँ । त्यतिबेला मसँग जयराजजीले मनमोहन अधिकारीको सरलता (सिम्प्लिसीटी)को प्रशंसा गर्नुहुन्थ्यो । प्रसङ्ग के रहेछ भने गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपाली प्रतिनिधिहरूको टोलीमा विपक्षी दलका तर्फबाट मनमोहन अधिकारीलाई पनि छानिएको रहेछ । 

उहाँ त्यही मेसोमा अमेरिका गएको बेला जयराजजीको संगत भएको रहेछ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने क्रममै पनि मनमोहन अधिकारीसँग सम्बन्धित रोचक प्रसंग छ । अमेरिका जाने बेलामा उहाँलाई टिकट तथा अरु लजिस्टिक दिएर डलर सटही चाहियो भने राष्ट्र बैंकमा गएर लिनुहोला भनेछन् । टिकट, महासभामा जाने पत्र देखाएर सटही लिने बराबर नेपाली रुपैयाँ दिएपछि सटही पाइनेमा उहाँले राष्ट्र बैंकमा पत्र र टिकट दिएर सटही दिनुहोस् भन्नुभएछ । यो प्रसंगलाई रामबाबु पन्त (जो पछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पनि बन्नुभयो) उहाँले सुनाउनुभएको हो । पन्तजी त्यतिबेला बैंकिङ कार्यालय थापाथलीको मेनेजर हुनुहुन्थ्यो । मनमोहनजीको त्यो सोझोपन देखेर उहाँ छक्क पर्नुभएछ ।

पछि घूस खाएको, अवैध सम्पत्ति कमाएको भन्ने कुरा उठ्यो । यी चर्चाहरू चाहिँ मैले सञ्चारमाध्यमहरूमा पढेको हुँ । त्यसपछि मनमोहन अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो, सम्पत्ति विवरणमा ३५ सय डलर रहेको पनि देखाउनुभएको रहेछ । त्यसलाई उहाँका विरोधी कांग्रेसका केही नेताले विदेशी मुद्रा राख्नु अवैध हो भनेर उछाल्न खोजेको थिए । त्यसपछि किसुनजीले तिनीहरूलाई डाकेर गाली गर्नुभएछ, ‘मनमोहन अधिकारी जस्तो सरल मान्छेलाई त्यसरी आरोपित गर्ने ? उहाँ संयुक्त राष्ट्रसंघमा जाँदाको यात्रा तथा महँगी भत्ता खर्च नभएर बचेको रहेछ । त्यसरी खोज्ने हो भने त यहाँ कोही बाँकी रहँदैन ।’ 

समग्रमा भन्दा मनमोहन अधिकारी नेपाली राजनीतिका निष्ठाका पर्याय हुनुहुन्छ । इमान र सदाचारको अभाव हुँदै गएको यो समयमा सिद्धान्त र व्यवहारबीच खाडल नभेटिने मनमोहनबाट हामीले सिक्ने कुरा धेरै थिए र छन् । तर, उहाँलाई कसरी सम्मान गरिरहेछौँ, छर्लंगै छ । 
(पुष्पराज आचार्यसँगको कुराकानी)

 

र यो पनि   :

मनमोहन मीमांसा-१ : शालीन र विनम्र नेता

- मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन

- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन

-मनमोहन मीमांसा-४ : प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...

- जनप्रिय प्रधानमन्त्री मनमोहनका १० बलिया र ३ कमजोर पक्ष

- मनमोहन मीमांसा-६ : विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर )



Author

केशव आचार्य

आचार्य अर्थशास्त्री हुन् ।


थप समाचार
ad
x