संगीत

र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, हत्या भएको भन्दै आफन्तले दिए जाहेरी

इकागज |
असार ७, २०८० बिहीबार १९:५४ बजे

विराटनगर- र्‍यापर गिरिस खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा एक युवकको रहस्यमय मृत्यु भएको घटनामा मृतकका आफन्तले क्याफे सञ्चालक खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । 

असार ३ गते विहान करिब ११ बजेको समयमा उक्त क्याफेमा मासुको पैसा उठाउन भनेर गएका मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारका कासिद अन्सारीको रहस्यमय मृत्यु भएको थियो । कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले उक्त क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रुपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएका थिए ।


तर, क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरूले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको भन्दै उनीहरू विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर–८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर महानगरपालिका–१६ का अनुराग राउतविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले किटानी जाहेरी परेको जानकारी दिए । घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको उनले बताए । तर, अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए ।

‘असार ३ गते विहान ११ बजेतिर घटना भएको भन्ने व्यहोरामा जाहेरी दर्ता भएको छ’ प्रवक्ता दाहालले भने, ‘हाम्रो तर्फबाट अनुसन्धान गरिरहेका छौं, कसैलाई पनि पक्राउ गरिसकेको छैन, सबै परिस्थिति हेरेर अनुसन्धान जारी छ ।’

मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको आरोप लगाएका छन् । कासिदले जि क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको जनाइएको छ । 

मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले जनाएको छ । होटेल सञ्चालक खतिवडाले भने क्याफेको सिसाको ढोकामा कासिद ठोकिँदा सिसाले काटेको र  उनलाई उपचारका लागि विराट अस्पतालमा लैजाँदा उपचारकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।


Author

थप समाचार
x