संगीत

सुखद रहेन भिडियोमा पल शाहको कमब्याक

इकागज |
असार ८, २०८० शुक्रबार १२:४४ बजे

काठमाडौँ - पल शाह जेल गएपछि संगीत उद्योग मुर्छाएको टिप्पणी सुनिन्थ्यो । पलका केही शुभचिन्तक त पल नहुँदा म्युजिक भिडियो ठप्प भएको वक्तव्य दिन्थे । त्यसैले एक वर्षको जेल बसाइपछि पल फर्किँदा म्युजिक भिडियोमा काम गर्ने प्राविधिक सबैभन्दा खुसी थिए । किनकि पल जेल जानुअघि महिनामा २० वटासम्म भिडियो खेल्थे । रोजगारको हिसाबले उनीहरू खुसी हुनु जायज नै थियो । तर लकडाउनमा फस्टाएको म्युजिक भिडियोको व्यापार महामारी सकिएसँगै सुस्ताएको छ । रहर पूरा भई नसकेका गीतकार वा लगानीकर्ताले फाट्टफुट्ट भिडियो बनाइरहेका छन् तर यसरी बनाएका भिडियोमा दर्शकको खडेरी छ । 

यही खडेरी पल शाहका भिडियोमा पनि देखिएको छ । जेलबाट फर्केपछि केही समय विश्राम गरेर म्युजिक भिडियोमा फर्किएका उनले आफ्नै निर्देशनको भिडियोबाट कमब्याक गरेका थिए । उनले कमब्याक गरेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतले पुरुष स्वरमा जति दर्शक पाएको थियो त्यति महिला स्वरले पाएन । तर पनि पलले पछिल्लो समय गरेका अन्य गीतभन्दा यसलाई धेरै दर्शकले हेरेका छन् । 


तर यसपछि सार्वजनिक भएका ‘करोडौँलाई हेरेर’ ‘तिमी छौ र त’, ‘लुम्बिनी जता तिमी, उतै म झुम्मिने’, कुनै पनि गीतले १० लाखको आँकडा पनि कटाउन सकेका छैनन् । यो बीचमा उनले खेलेका ‘थाहै भएन’ र ‘सक्छौ र तिमी म बिना बाँच्न’ले मरेर १० लाख भ्युज कटाएका छन् भने ‘आँशु बनी नखस कैले नी’ले २० लाख ।
अहिले पल शाहका गीतमा मात्र हैन समग्रमा युट्युबमा भ्युज घटिरहेको अवस्था हो । यही कारण पल शाहका गीतमा मात्र दर्शक नआएको निष्कर्ष निकाल्न सकिँदैन तर यो बीचमा उनले खेलेका भिडियो अडियोका हिसाबले भने कमजोर छन् । कुनै पनि गीत दर्शकले गुनगुनाउने गरी मनमा बसेका छैनन् । यो कुराले पनि पलको कमब्याक कमजोर बनाएको छ ।

पलले आजभोलि एउटा भिडियो खेलेको ३ लाख रुपैँया माग्ने गरेको बजारमा चर्चा छ । योसँगै डेढ दुई लाखको स्पोन्सर्ड वा बुस्ट गर्नुपर्ने शर्त पनि उनले राख्ने गरेको भुक्तभोगी बताउँछन् । यसरी पलका लागि मात्र एउटा भिडियोमा ५ लाख खर्च हुन्छ भने यसमा भिडियो मेकिङको पैसा छुट्टै लाग्छ । कलाकार, निर्देशक, छायांकार र सुटिङको रुपैँया जोड्दा कम्तिमा पनि एउटा भिडियो बनाउन १० लाख खर्च हुन्छ । तर ५ लाख पनि भ्युज नहुँदा यस्ता भिडियोबाट लगानी उठाउने सम्भावना लगभग शून्य छ । 

एक त पलले अभिनय गरेको भिडियोले दर्शक पाएका छैनन् झन् त्यसमाथि कमजोर अडियो । पलको म्युजिक भिडियोको दोस्रो इनिङ भने अहिलेसम्मलाई दमदार देखिएको छैन । 


Author

थप समाचार
x