संगीत

जापानको तीन सहरमा नेपथ्य

इकागज |
साउन १४, २०८० आइतबार १६:२ बजे

काठमाडौं - जापानको टोकियो फुकुओका र ओसाकामा   नेपथ्यले कन्सर्ट गर्ने भएको छ । कन्सर्टको सुरुवात   राजधानी टोकियोबाट सुरु हुने नेपाल आयोजक नेपालयले जनाएको छ । कन्सर्टका लागि   १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ । त्यसैगरि ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैँमा नेपथ्यका लागि कोशेढुँगा थियो ।
‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मिठा यादहरुमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ ।’


आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृत सुनाउँछन् ।
सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउनेगरि झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो । कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो । त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो ।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरुलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रवर्र्दन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालिको नेपथ्य जापान शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्ने छ । जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।


Author

थप समाचार
x