प्रमुख समाचार

एमाले बैठक बस्दै

इकागज |
बैशाख १०, २०७८ शुक्रबार ९:२७ बजे

काठमाडौँ : नेकपा एमाले ओली समूहको बैठक आज बस्दैछ । बालुवाटारमा दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्‍न लागेको हो । विहान ११ बजेदेखि सुरु हुने बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्‍नेछन् ।

एमाले केन्‍द्रीय सदस्‍य बिन्‍दा पाण्‍डेले महाधिवेशनका साथै पार्टीभित्रका विविध विषयमा छलफल बताइन् । ओली समूहले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । यसअघि केन्द्रीय समिति बैठकले माधव नेपालसहित कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो ।


ओलीले एमाले नेता माधवकुमार नेपालसँग दुई पटक छलफल गरेपछि बस्‍न लागेको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बिहीबार दिउँसो नेता नेपाल र साँझ वामदेव गौतमसँग ओलीले छलफल गरेका थिए ।

त्यसयता एमाले विभाजनको संघारमा छ । ओली समूहले कारबाही गरेपछि माधव समूह देशभर समानान्तर कमिटी बनाउँदै अघि बढेको छ । त्यसपछि आक्रोशित बनेको माधव समूहले ओलीविरुद्ध प्रदेशहरुमा पनि 'फ्लोर क्रस' गर्ने लहर चलाएको छ । यद्यपी अहिलेसम्म कर्णाली बाहेक अरु प्रदेशमा 'फ्लोर क्रस' भइसकेको छैन् ।


Author

थप समाचार
x