प्रमुख समाचार

सभापतिको साझा उम्मेदवार बनाउने विषयमा कुनै खटपट छैन : नेता पौडेल

इकागज |
भदौ १७, २०७८ बिहीबार १९:३२ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताएका छन् । पार्टी कार्यालय सानेपामा संस्थापनइतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरू एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताए ।  
    
महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने पौडेलले बताए ।  

वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेलेको भनाइ थियो । आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उनले बताए ।  


संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उनले बताए । देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत आग्रह गरे । कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने उनले बताए ।  

छलफल गरेर नै सभापतिको उम्मेदवार तय गर्ने र कुनै खटपट नगरी एक भएर अगाडि बढ्ने वरिष्ठ नेता पौडेलले प्रष्ट पारे । सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने उनको भनाइ थियो ।  अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेको र निष्ठावान् कार्यकर्ता क्रियाशील सदस्यताबाट बञ्चित हुने अवस्था सिर्जना भएको नेता पौडेलले बताए ।  
    
सम्मेलनमा पौडेलसँगै पार्टीका महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा शेखर कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित थिए ।  (रासस)
 


Author

थप समाचार
x