प्रमुख समाचार

बलिउड फिल्म ‘उँचाइ’ को सुटिङ मंसिर १९ देखि नेपालमा सुरु हुँदै,  मुस्ताङदेखि सगरमाथाको फेदसम्म सुटिङ

इकागज |
भदौ २०, २०७८ आइतबार ८:३ बजे

काठमाडौँ :  नेपालमा हुने भनिएको बलिउड फिल्म ‘उँचाइ’को सुटिंग अक्टोबर ५  अर्थात् मंसिर १९ देखि सुरु हुने भएको छ । नेपालमा फिल्म प्रडक्सनको काम हेरिरहेका अरुण रेग्मीले दुई महिनापछि सुटिंग गर्ने गरी लोकेसन हेर्न काम चलिरहेको जानकारी गराए ।

उनले लोकेसन हेर्नकै लागि निर्देशक सुरज बडजात्या आज नेपाल आइरहेको पनि जानकारी गराए । सुरज बडजात्या आज अपरान्ह काठमाडौं झर्नेछन् र त्यहाँबाट हेलिकप्टर लिएर मुस्ताङ पुग्ने रेग्मीले इकागजलाई बताए । 


बडजात्या बीचमा पनि सुटिंग गर्ने ठाउँ तय गरेर मुम्बई फर्किएका थिए । पहिलो चरणमा उनीहरुले लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएका थिए । अहिले भने बडजात्या मुस्ताङमा सुटिङ हुने लोकेसनहरु छान्न आउन लागेका हुन् ।  रेग्मीले बलिउड ‘क्रु’ कम्तीमा १ महिना नेपालका पहाडमा रहने जानकारी गराए । 

मित्रताको कथामा बन्न लागेको यो फिल्ममा सुरज बडजात्याले अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, निना गुप्ता, परिनीति चोपडा आदि कलाकार लिएका छन् । उनीहरु सबै नेपाल आएर सुटिंग गर्नेछन् । तर, अमिताभ बच्चन आउने कि नआउने भन्ने कुरामा भने सस्पेन्स रहेको रेग्मीले बताए । 

‘छानिएकामध्ये केही लोकेसन धेरै उँचाइमै छन् । उमेर अलि धेरै भइसकेकाले उहाँलाई अलि गाह्रो होला कि भन्ने छ । त्यसैले उहाँको त के हुन्छ थाहा छैन तर अरु त सब आउँदै हुनुहुन्छ,’रेग्मीले भने । 

अमिताभ बच्चनका एक्सन फिल्मले बलिउड छपक्क पारेका बेलामा सुरज बडजात्याले ‘मैने प्यार किया’मार्फत घरेलु र साधारण प्रेमकथा पस्किएर अमिताभको लयलाई चुनौती दिएका थिए । अमिताभले दोस्रो चरणमा आफूलाई पारिवारिक फिल्ममा पनि चोटिलो साबित गरे पनि बडजात्याले सलमान खानलाई छाड्न सकेका थिएनन् । तर पहिलो पटक  बडजात्याले अमिताभ बच्चनसँग काम गर्ने मौका जुराएका हुन् । 

बडजात्याले नेपाललाई सुटिंग गन्तब्य छान्नुअघि भारत र विदेशका पनि केही ठाउँ चहारेका थिए । तर पाका कलाकारको बाहुल्य रहेको  टोली लिएर सुटिंग गर्न नेपाल सुरक्षित रहेको महसुस गरेपछि उनले नेपाल छानेको भारतीय अनलाइनहरुमा उल्लेख छ ।  ‘मैने प्यार किया’बाट बलिउडमा निर्देशनमा पाइला चालेका सुरज बडजात्याले पछिल्लो पटक सलमान र सोनम कपुरलाई लिएर ‘प्रेम रतन धन पायो’ निर्देशन गरेका थिए । 
 


Author

थप समाचार
x