प्रमुख समाचार

धनुषाका दश स्थानीय तहको आर्थिक कारोबार ठप्प

सुभाष कर्ण |
असोज १६, २०७८ शनिबार २०:२७ बजे

सांकेतिक फोटो

जनकपुरधाम – बजेट पारित र प्राविधिक समस्याका कारण धनुषाका दश वटा स्थानीय तहको आर्थिक कारोबार ठप्प रहेको छ । सम्बन्धित निकायको बेवसाइटमा रकमसहितको विनियोजित योजनाको विवरण अपलोड गरी अद्यावधिक गर्न नसक्दा कुल १८ मध्ये दश स्थानीय तहको आर्थिक कारोबार ठप्प भएको हो ।

बजेट पारित गर्न नसकेको, पारित भए पनि खाता खोल्न नवीकरण गर्न नसकेको साथै सबै प्रक्रिया पुरा गरे पनि  सम्बन्धित निकायले बेवसाइटमा योजना विवरण अद्यावधिक नगरेका कारण आर्थिक कारोबार हुन नसकेको हो । जिल्लाका जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका, विदेह नगरपालिका, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र वटेश्वर गाउँपालिकाको आर्थिक कारोबा ठप्प रहेको छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेवसाइटमा सार्वजनिक विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिका, हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनिया गाउँपालिका र बटेश्वर गाउँपालिकाले सभाबाट बजेट पारित गर्न सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिकाले २५ असारमा, बटेश्वर गाउँपालिका श्रावण मसान्तमा र लक्ष्मिनियाँ गाउँपालिकाले बजेट पारित गरेको बताउँदै आएका छन् । यीमध्ये हंसपुर नगरपालिका र बटेश्वर गाउँपालिकाले सभाबाट बजेट पारित, नेटको सुत्रमा बाँध्ने कार्यसमेत सम्पन्न गरिसकेको अवस्थामा मन्त्रालयको बेवसाइटमा बजेट पारित नभएको सूचीमा राखेको थाहा नभएको बताएका छन् । ‘हामीले २५ असारमै सभाबाट बजेट पारित गरी नेटमा अपलोड गरेका छौं तर के, कति कारणले मन्त्रालयको बेवसाइटमा बजेट पारित हुन नसकेको सूचीमा परेको हो यसबारे हामीलाई थाहा छैन,’ हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले भने ।

यस्तै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले  श्रावण महिनामै बजेट पारित गरी परिषद्को फाइल क्लोज गरेर योजनासहित नेटमा अपलोड गरेको बताए । ‘तर के कति कारणले मन्त्रालयले बजेट पारित भएको सूचीमा नराखेको हो यसबारे हामीलाई केही जानकारी छैन,’ उनले भने ।

यता लक्ष्मिनियाँ गाउँपालिकाले पनि बजेट पारित र नेटको सुत्रमा बाँध्ने काम सम्पन्न गरिसकेको जनाएको छ । ‘नीति तथा कार्यक्रम पारितलगत्तै बजेट पनि पारित भइसकेको छ तर मन्त्रालयको बेवसाइटमा पारित नभएको सूचीमा राख्नुको कारण हामीलाई थाहा छैन,’ गाउँपालिकाका प्रवक्ता फुलगेन यादवले भने, ‘खाता खुल्न नसकेकोबारे प्रशासकीय अधिकृत हरिशंकर यादवसँग बुझ्छु ।’ 

बजेट पारित र खाता नवीकरण गरिसके पनि परिषदको फाइल क्लोज गर्न नसकेको कारण सम्बन्धित निकायको नेटमा योजनासहितको विवरण अपलोड गर्न नसकेको कारण जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार ठप्प हुन गएको छ भने मिथिला बिहारी नगरपालिका र धनौजी गाउँपालिकाले बजेट पारित गर्न नसकेको कारण आर्थिक कारोबार गर्नबाट वञ्चित भएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पनि आफू सबै प्रक्रिया पूरा गरिसके दाबी गर्दै के कति कारणले बजेट पारित नभएको सूचीमा राखेकोबारे थाहा नभएको बताए । उपमहानगपालिका कर्मचारी श्रोतकाअनुसार मेयर साह र प्रमुख प्रशासकीय अधिकृत विनोद खड्काबीच करारमा कर्मचारी भर्ना र परिषद्बाट पारित नभएका योजनाहरू राख्नेबारे विवादको कारण परिषदको फाइल क्लोज हुन नसक्दा मन्त्रालयमा फाइल पठाइएको छैन र नेटको सुत्रमा समेत अहिलेसम्म अपलोड गरिएको छैन ।

उता मिथिला बिहारी नगरपालिका र धनौजी गाउँपालिकामा प्रमुख र वडाध्यक्षहरूबीच योजना र बजेट रकममा बाँडफाँडमा कुरा मिल्न नसक्दा सभाबाट बजेट पारित गर्न सकिएको छैन । धनौजी बजेट पारित नभएपनि खाता नवीकरणका लागि फाइल कोलनिकामा पठाइसकेको कोलनिका धनुषाका प्रमुख वीरेन्द्रकुमार मिश्रले बताएका छन् । ‘मेयर र वडाध्यक्षहरुबीच योजना बाँडफाँडमा विवाद रहेको कारण सभाबाट बजेट पारित गर्न सकिएको छैन,’ मिथिला बिहारी नगरपालिकाका प्रशासकीय अधिकृत रामदरश यादवले भने । 

त्यस्तै धनौजी गाउँपालिकका अध्यक्ष बद्रीनारायण सिंहले योजना बाँडफाँडमा कुरा मिल्न नसक्दा ढिलाइ भएको बताए । ‘अब वडाध्यक्षहरूसँग कुरा मिलिसकेको छ, दुई÷तीन दिनभित्रै बजेट पारित गर्नेर्छौं,’ उनले भने । यीबाहेक बजेट पारित गरिसके पनि खाता नवीकरण गर्न नसक्दा सबैला नगरपालिका, विदेह नगरपालिका, नगराइन नगरपालिका, नगराइन नगरपालिका, जनकनन्दनी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको खाता नवीकरण हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x