प्रमुख समाचार

प्रतिनिधि सभा पुनःस्थापना नभए तेस्रो जनआन्दोलन : भट्टराई

बिक्रम खड्का |
माघ ९, २०७७ शुक्रबार १२:४९ बजे

बुटवल : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सच्च्याउन तेस्रो आन्दोलनका लागि तयार हुनु पर्ने बताएका छन् । उनले संविधान नमान्‍ने केपी ओलीको कदमका विरुद्ध सम्युक्त आन्दोलन गर्नु पर्नेमा जोड दिए ।

बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भने- 'यो कदम अलोकतान्त्रिक र असंवैधानिक छ, यसलाई सहि ठाउँमा नल्याएसम्म आन्दोलन जारी हुन्छ । सबै सेटिङमै चल्ने अवस्था हो भने तेस्रो जनआन्दोलनका लागि तयारी गरौं  ।'


उनले जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्नेमाजोड समेत दिए । 'प्रतिनिधि सभा विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,' भट्टराईले भने, 'नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ । त्यसले मात्रै प्रतिनिधि सभा पुनःस्थापना गर्नसक्छ ।'

ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले खुलासा गरे ।

पत्रकारको प्रश्नमा भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए । 'मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौं,' भट्टराईले भने । भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवासमेत गरे ।

व्यवस्था भत्काउने र निरंकुश शासक बन्‍ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुनःस्थापना नभई चुनाव हुन नसक्ने उनले दावी गरे । संवैधानिक निकाय, सुरक्षालगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको भट्टराईको विश्लेषण छ ।

असंवैधानिक तरिकाले गरिएको प्रतिनिधि सभा विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्‌ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x