संसद्

प्रतिनिधि सभा बैठक बस्दै

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

इकागज |
भदौ २, २०७९ बिहीबार ६:२७ बजे

फाइल तस्बिर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ ।  आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । 

आज गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरूले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । 


मन्त्रीले जवाफ दिँदा सांसदहरूले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन् । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ । 

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद् सचिवालयका अनुसार आजै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ ।  यस्तो जानकारी संसद् सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ । 


Author

थप समाचार
x