संसद्

सरकारका कारण संसदकाे गतिविधि प्रभावकारी हुन नसकेकाे विष्णु पौडेलकाे आराेप

इकागज |
कात्तिक १६, २०८० बिहीबार १४:२८ बजे

​​काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसदको चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाएका हुन् । उनले सदनमा सांसदहरूले उठाएका आवाजहरूको जवाफ सरकारले दिन नचाहेको जिकिर गरे ।


पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भए पनि प्रतिपक्षीका जायज आवाजहरूलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको धारणा राखे ।

जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरे । पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौती दिए । उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रूपमा मनाउन नसकिने स्पष्ट पा​रे ।​

उपाध्यक्ष पौडेलले अर्थतन्त्र चौतर्फी संकटमा रहे पनि संकट समाधानका लागि सम्पूर्ण रूपले असफल रहेको तर्क गरे । उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा उनले जोड दिए ।


Author

थप समाचार
x