संसद्

राष्ट्रिय सभा : विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसंघका महासचिवको चर्चा

इकागज |
कात्तिक १६, २०८० बिहीबार २०:९ बजे

काठमाडौँ- राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गरेका छन् ।

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरूले संघीयतालाई बलियो बनाउन थाती रहेको कानुन चाँडो निर्माण गर्न तथा राष्ट्रिय सभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरे ।


नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको भन्दै जोशीको रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण उपलब्धिमूलक भएको र शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा उठाएको विषय अन्तर्राष्ट्रियस्तरमा नेपालले चर्चा पाएको बताए ।

यस्तै नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले इजरायलमा हमासद्वारा मारिएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्धक बनाइएको भनिएका विपीन जोशीको खोजी र उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले मुगुको छायाँनाथ गाउँपालिकामा हालै अज्ञात व्यक्तिबाट भएको सामूहिक हत्याका घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गरे । सांसद दाहालले राष्ट्रिय सभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्ने खाँचो औंल्याए ।

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले इजरायलमा हमासको नजरबन्दमा रहेका भनिएका विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले संघीयतालाई बलियो बनाउन बाँकी रहेका कानुन चाँडो बन्नुपर्नेमा जोड दिए । सभालाई प्रभावकारी बनाउन नसकिएको र महत्वपूर्ण विधेयक आउन नसकेको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले सभाबाट महत्वपूर्ण विधेयक पारित भएको भन्दै आगामी दिनमा पनि सभाको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताइन् । उनले मुलुकभित्र अहिले पनि विभिन्न किसिमका समस्या व्याप्त रहेको, भ्रष्टाचार, महँगी र कालोबजारी बढिरहेको भन्दै यसको नियन्त्रण र प्रभावकारी अनुगमन गर्न ध्यानाकर्षण गराइन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्र कुमारसिंह यादवले इजरायलमा हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई कूटनीतिक पहलको प्रयास गरी सकुशल नेपाल ल्याउने पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नजिकिएको तिहारमा चिनीलगायतका खाद्यपदार्थको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले संघीयतालाई बलियो बनाउने महत्वपूर्ण विधेयकहरू ल्याउन माग पनि गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले विपीन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष माग गरे ।

उनले विगतमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल नामकरण भएको अहिले सप्तरी जिल्ला अस्पतालका रूपमा सञ्चालन रहेको भन्दै त्यसलाई  पुरानै नाममा अञ्चलस्तरीय अस्पताल कायम गर्न माग गरे । त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावकारी रूपमा सञ्चालन गर्न, चन्द्रनहरको पुनःनिर्माणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
    
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।


Author

थप समाचार
x