संसद्

संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री जिम्मेवार : भगवती चौधरी

इकागज |
कात्तिक १६, २०८० बिहीबार १९:२९ बजे

काठमाडाैँ- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसको भ्रमण परिणाममुखी भएको बताएकी छिन् । काठमाडौँमा भएको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

गुटेरेसले संसदमा सम्बोधन गरेका विषयवस्तु नेपाल र नेपालीको हितमा रहेको उनले उल्लेख गरिन् । नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र यसको असर तथा गरिबी निवारण र आर्थिक, सामाजिक रूपान्तरमा गुटेरेसले विश्वको ध्यानाकर्षण गराउनु नै महत्वपूर्ण रहेको चौधरीको जिकिर छ । 


विश्वमा फैलिरहेको युद्धको अन्त्य गर्दै विश्व नै शान्तिको मार्गमा जान गुटेरेसले सुझाव दिएको चौधरीले बताइन् । अबको मार्ग भनेको विश्वमा शान्ति निर्माण गरी शान्त र सुरक्षित मुलुक बनाउनु गुटेरेसको सन्देश रहेको चाैधरीकाे भनाइ छ । जलवायु परिवर्तनले नेपालमा पारेको असर र नेपाललाई सहयोग गर्न विश्व समुदायलाई गुटेरेसले गरेकाे अपिल सान्दर्भिक भएको उनको तर्क छ । 

कार्यक्रममा उनले संक्रमकालीन न्यायको विषय प्रधानमन्त्री प्रचण्डकै कारण अलमलमा परेको आरोप लगाइन् । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायको पक्षमा नरहेको समेत उल्लेख गरिन् ।

‘नेपालकाे शान्ति प्रकृया र संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री प्रचण्ड जिम्मेवार हुनुहुन्छ । सत्ता पक्षकै कारण संक्रमणकालीन न्याय निर्माण र पीडितले न्याय पाउनुपर्छ भन्ने विषय राेकिएकाे छ । अदालतकाे आदेश पालना गरेर चाँडाेभन्दा चाँडाे शान्ति प्रकृया टुंग्याउनु पर्छ,’ चाैधरीले भनिन् । 

यस्तै सांसद चौधरीले एमालेको चियापान कार्यक्रमले टुटेका मनहरू जाेड्ने पनि बताएकी छिन् । चाडवाडकाे शुभकामनासँगै चियापान कार्यक्रमले पार्टीको आन्तरिक जीवन मजबुत बनाउने उनको विश्वास छ । चियापानले नेता कार्यकर्तामा देखिएको निराशालाई उत्साहमा रूपान्तरण गर्न सकिने चौधरीको भनाइ छ ।

चियापान कार्यक्रममा अतिथिका रूपमा अन्य दलका शीर्ष नेताहरूलाई बोलाउने संस्कार झनै राम्रो भएको भन्दै चाैधरीले यस्ता संस्कारले पार्टीदेखि अन्य दलहरूसँग पनि सम्बन्ध बलियो बनाउनेमा विश्वास व्यक्त गरिन् ।


Author

थप समाचार
x