संसद्

सहकारी ठगी प्रकरण

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसको माग

इकागज |
चैत ६, २०८० मंगलबार १४:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले सहकारी प्रकरणमा लामिछानेका विरुद्ध कुनै प्रमाण नदेखिएको जवाफ दिएपछि कांग्रेसले लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको हो । प्रधानमन्त्रीको प्रश्नोत्तरलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस मुख्य सचेतक रमेश लेखकलाई बोल्न समय दिएका थिए ।


लेखकले लामिछानेका विरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै प्रधानमन्त्रीले नै प्रमाण नभएको बताउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको अवस्थामा अब कसरी निष्पक्ष छानबिन होला ? भन्दै उनले प्रश्न गरे ।

पीडितले भनेका कुरा, पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाणमा रूपमा रहेको भन्दै त्यसलाई वेवास्ता गर्न नमिल्ने उनको भनाइ छ । लेखकले सदनभित्रैबाट छानबिन समिति गठन गरेर प्रमाणका बारेमा अध्ययन गर्न चुनौती दिए ।

उनले आफूहरू संसद् अवरुद्ध गरेर कामकारबाहीलाई अवरोध गर्ने पक्षमा नरहेको भन्दै कांग्रेसले उठाएका विषयमा सरकार गम्भीर नहुँदा आगामी दिनमा सदन अवरुद्ध भए सरकारले संसद् अवरुद्ध गरेको मानिने तर्क गरे । 


Author

थप समाचार
x