संसद्

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

इकागज |
चैत २८, २०८० बुधबार ६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक १:१५ बजे बोलाइएको छ ।

संसद्‌ सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।


राष्ट्रियसभा सदस्य दुर्गा गुरूङले ‘राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

साथै राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले ‘राष्ट्रियसभा सदस्य बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् । 

साथै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी हुन् भने सत्ता गठबन्धनबाट एमालेकी घिमिरेले हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनीत २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।


Author

थप समाचार
x