दल

पार्टी भित्रका आन्तरिक असन्तुष्टि निर्वाचन परिणाममा देखियो: कांग्रेस सचेतक भुसाल

इकागज |
जेठ ४, २०७९ बुधबार १६:४२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छिन् । 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग  कुरा गर्दै सचेतक भुसालले आगामी संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताएकी हुन् । 


पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उनले बताइन् । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताइन् । 

उनले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् । उनले भनिन् – ‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आम जनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा केही जिम्मेवारी पनि थपिएको हामीले महशुस गरेका छौँ र यही निर्वाचनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत यसैगरी यही गठबन्धनको माध्यमबाट प्रदेश  र केन्द्रीय निर्वाचनमा पनि अगाडी बढ्ने सोच राखिएको छ ।’

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताइन् । 

पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाई छ । महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उनले बताइन् । 

उनले भनिन्,  ‘अहिले ३५ लाख बढी युवाहरु नयाँ मतदाता थपिएको पनि हो र अहिले नयाँ युवा मतदाताहरु थपिदै गर्दा पपुलर भोटका कुराहरु आउँछन् । दोस्रो, पार्टी भित्रका आन्तरिक असन्तुष्टिका कुराहरु पनि त्यहाँ प्रकट हुने गर्दछन् । तर पनि काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो । तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ यसबाट भोलीको दिनमा पार्टीले उम्मेदवारी दिदैँ गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ । यो परिणामलाई हेरेर निष्कर्ष निकाल्नुपर्ने त छैन, किनभने अझै धेरै परिणाम आउन बाँकी छ ।’

उनले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरीलाई दोहोरिन नदिने पनि बताइन् । 

  


Author

थप समाचार
x