दल

अहिलेको सरकार जति समय रह्यो त्यति समयको बर्बादी होः योगेश भट्टराई

इकागज |
जेठ ४, २०७९ बुधबार १७:८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् । 


उनले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने  क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाए । भट्टराईले सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको बताए । 

उनले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको बताए । 

भट्टराईले अर्थमन्त्री शर्मालाई अबको ३ महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ भनेर प्रश्न समेत गरे । उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको बताए । 

अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे । भट्टराईले अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको तर अहिलको अर्थमन्त्रीे त्यसबारे केही बोल्न नसकेको बताए । 

अर्थमन्त्री  समाजवादको गफ दिने र काम अर्को तिर गर्ने गरेको आरोप लगाए । उनले अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले बताए । उनले कोभिडका कारण धराशायी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने बताए ।

गठबन्धन सरकारले एमसीसी र बीआरआई जस्ता परियोजनालाई गिजोल्ने काम गर्ने अन्तर्राष्ट्रिय विश्वास घटाएको भट्टराईको आरोप छ । युवालाई रोजगारीको अवसर दिनेभन्दा ‘मलेसिया पठाइदिने’ नीति सरकारले लिएको भन्दै उनले अर्थतन्त्र सुधार्न सरकारले कुनै उपाय दिन नसकेको बताए । 

उनले अर्थमन्त्री शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको आफ्नै सिद्धान्त ल्याएको भनेर प्रश्न गर्नु भएको छ ।

भट्टराईले गठबन्धन सरकार आएसँगै मुलुकको आर्थिक प्रणाली खास गरी औपचारिक प्रणाली र बैंकिङ प्रणालीहरु नै ध्वस्त हुँदै गएको बताए । 

उनले अनौपचारिक क्षेत्रले प्रसय पाएकाले हुण्डी, कमिसन, भष्टचार र तस्करीका बाटाहरु खुल्ला गरिएको आरोप लगाए । यो सरकार आए पछि अर्थतन्त्रका औपचारिक च्यानलहरु कमजोर भएर अनौपचारिक क्षेत्रका च्यानलहरु बलियो बन्दै गएको भट्टराईको भनाई थियो । यस्ता कार्यले मुलुकको अर्थतन्त्रलाई गैर आर्थिक क्रियाकलाप तिर लाने खतरा बढने देखिएको भट्टराईले बताए । 


Author

थप समाचार
x