दल

अधिकांश पुरानै अनुहार

गठबन्धनमा सिट बाँडफाँटको सकस : धमाधम उम्मेदवार सिफारिस गर्दै कांग्रेस, कहाँबाट को ?

देउवा र रामचन्द्र सातौँ पटक चुनाव लड्दै, निधि र केसी समानुपातिकमा

दुर्गा आचार्य |
भदौ १८, २०७९ शनिबार २१:२४ बजे

फाइल तस्बिर

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकसबीच नेपाली कांग्रेसले देशभरबाट उम्मेदवारको नाम सिफारिस गर्न थालेको छ । गठबन्धनअन्तर्गत कुन क्षेत्र कसको भागमा पर्ने अनिश्चितताबीच 'तालमेल हुँदा आफूले नपाउने निर्वाचन क्षेत्र छाड्ने प्रतिबद्धता'सहित  कांग्रेसले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३२० वटै क्षेत्रमा धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । भदौ २० गतेभित्र उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइसक्न कांग्रेसले मातहतका समितिहरूलाई परिपत्र गरेको छ । 

अहिलेसम्म सिफारिस भएका उम्मेदवारहरूमा अधिकांश पुरानै अनुहारहरू दोहारिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको नाम सातौं पटक संघीय सांसदका लागि डडेलधुराबाट सिफारिस भएर आएको छ । उनलाई जिल्ला कार्यसमितिले सर्वसम्मत प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको हो । उनी २०४८ देखि डडेल्धुराबाट निर्वाचन लड्दै आएका छन् । 


कांग्रेस वरिष्ठ नेता रामचन्द पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् । उनी पनि सातौँ पटक उक्त क्षेत्रबाट निर्वाचन लड्ने भएका हुन् । उनीसँगै कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईको पनि यसै क्षेत्रबाट उम्मेदवारी सिफारिस गरिएको छ । यसअघि २०७४ मा पौडेल १ बाट पराजित भएका थिए भने भण्डारी २ बाट पराजित भएका थिए ।

 यसैगरी कांग्रेस नेता डा. शेखर कोइराला मोरङ ६ बाट निर्वाचन लड्ने भएका छन् । उनले क्षेत्रीय समितिमा सिफारिसका लागि मनोनयन दर्ता गराएका छन् । कोइराला ०६४ सालदेखि नै यसै क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनी ०७४ मा साइकल मन्त्री भनेर चिनिने लालबाबु पण्डितसँग पराजित भएका थिए । 

यसैगरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट सिफारिस भएका छन् । उनी २०४८ देखि नै सुर्खेतबाट निर्वाचन लड्दै आएका छन् । खड्काको नाम सुर्खेतसँगै बाँके क्षेत्र नम्बर ३ बाट पनि सिफारिस भएको छ । 

यस्तै कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि २०७४ मा गोपालमान श्रेष्ठलाई हराउँदै पदमा अर्याल यस क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 

यसैगरी कांग्रेस महामन्त्री गगन थापा काठमाडौं ४ बाट निर्वाचन लड्ने भएका छ्न । उनको नाममा कास्की क्षेत्र नम्बर १ बाट पनि मनोनयन दर्ता भएको थियो । यद्यपि, उनले काठमाडौँ ४ बाट नै चुनाव लड्ने उद्घोष गरेका छन् । 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने झापा १ बाट सिफारिस भएका छन् । उनी काठमाडौँबाट निर्वाचनमा उठ्ने हल्ला भए पनि `प्रेम एकातिर विवाह अर्कोतिर गर्दिन` भन्दै उनले झापाबाट निर्वाचन लड्ने बताइसकेका छन् । 

यस्तै, कृष्ण प्रसाद सिटौला झापा ३ बाट सिफारिस भएका छन् । उनी २०७४ मा यसै क्षेत्रबाट पराजित भएका थिए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले पराजित गरेका थिए । 

कांग्रेस नेता विमलेन्द्र निधि भने यसपटक प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । उनको नाम धनुषा ३ बाट समानुपातिकमा सिफारिस भएको छ । गठबन्धनका कारण टिकट पाउने सम्भावना नभएको र स्थानीय तहको मतपरिणामका कारण पनि निर्वाचनमा पराजय हुने डरले समानुपातिकमा सिफारिस भएको कांग्रेसवृत्तमा चर्चा छ । 

उनी यसअघि ०७४ मा राजेन्द्र महत्तोसँग पराजित भएका थिए । पूर्व महामन्त्री डा. शशांक कोइरालाको नवलपुर १ बाट सिफारिस गरिएको छ । उनी यसअघि ०६४, ०७० र ७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

कांग्रेस नेता रामशरण महत्तको नुवाकोट १ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्रीय समितिले कांग्रेस प्रवक्ता प्रकाशशरण महत्तलाई १ नम्बरमा राखेर दाजु रामशरणलाई २ नम्बरमा सिफारिस गरेको छ । प्रकाशसरणको काठमाडौँ ५ बाट पनि उम्मेदवारी सिफारिस गरिएको छ । यसअघि २०७४ मा उनी काठमाडौँ ५ बाट एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए । यसअघि काठमाडौँमा पराजित भएपछि यसपटक जसरी पनि नुवाकोट १ बाट नै निर्वाचन लड्ने मनस्थितिमा रहेका छन् । 

यसैगरी नेता अर्जुननरसिंह केसी नुवाकोट २ बाट समानुपातिकमा सिफारिस भएका छन् । उनलाई क्षेत्रीय समितिले समानुपातिकमा सिफारिस गरेको हो । केसी प्रत्यक्षमा निर्वाचन लड्न चाहेपनि क्षेत्रीय समितिले बहादुर सिंह लामालाई प्रत्यक्षमा सिफारिस गरेको छ । लामासहित लालीमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ प्रत्यक्षमा पर्दा केसी भने परेनन् । 

यसैगरी गृहमन्त्री बालकृष्ण खाण रुपन्देही २ बाट सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले खाणसहित प्रतिनिधि सभा प्रत्यक्षतार्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खाणसहित युवराज गिरी, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्ण प्रसाद पोखरेलको नाम सिफारिस भएको हो । यो क्षेत्र एमाले नेता विष्णु पौडेलले लगातार तेस्रो पटक चुनाव जितेको क्षेत्र हो । खाण २०७४ मा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

नेता विजय गच्छदार सुनसरी ३ बाट एकल सिफारिसमा परेका छन् । उनी निलम्बित सांसद हुन् । उनले ललिता निवास प्रकरणमा मुद्दा खेपिरहेका छन् । कानुनमै नैतिक पतन देखिने अपराध वा भ्रष्टाचारमा संलग्न व्यक्ति आजीवन उम्मेदवार बन्न नपाउने व्यवस्था भएपनि गच्छदारको एकल नाम सिफारिस भएको हो । त्यसो त कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका मोहम्मद अफताव आलमको नाम रौतहट २ बाट सिफारिस भएको छ । उनलाई रौतहट २ को क्षेत्रीय समितिले सर्वसम्मत नाम सिफारिस गरेको छ ।  

नेता चन्द्र भण्डारी गुल्मी १ बाट उम्मेदवार सिफारिस भएका छन् । यसअघि उनी ०७४ मा एमालेसँग पराजित भएका थिए । बलबहादुर केसीको सोलुखुम्बुबाट उम्मेदवारी सिफारिस गरिएको छ । उनी ०७४ नेकपा माओवादी केन्द्रसँग पराजित भएका थिए । कांग्रेस सहमहामन्त्री जीवन परियारको कास्की १ बाट उम्मेदवारी सिफारिस भएको छ । 

कास्की १ बाट माओवादी केन्द्रका महासचिव देव गुरुङको दाबी छ । यसभन्दा अगाडि गुरुङ लमजुङबाट निर्वाचित भएका थिए । अर्का सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट सिफारिस भएका छन् । उनी ०७० मा समानुपातिक सांसद भएका थिए । ०७४ मा उनी राष्ट्रियसभा सदस्य भएका थिए । 

यसैगरी प्रधानमन्त्री पत्नी आरजु देउवाको नाम कैलाली ५ बाट सिफारिस भएको छ । उनी २०७४ मा यसै क्षेत्रबाट पराजित भएकी थिइन् । यसका अलावा उनको बाँके ३ र बागलुङ २ बाट पनि प्रत्यक्ष तर्फका लागि नाम सिफारिस भएको छ । 

प्रधानमन्त्री तथा पार्टी सभापतिनिकट मानिएका एनपी साउद र रमेश लेखकको नाम क्रमशः कञ्चनपुर २ र ३ बाट सिफारिस गरिएको छ । लेखकसँगै हाल सांसद रहेका बहादुरसिंह थापा र प्रेम विष्टका नाम पनि सिफारिस गरिएको छ । 

यस्तै साउदसँगै हरिप्रसाद बोहोरा, बहादुरसिंह थापा र भवानीदत्तको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले लेखक र साउदको नाम एकल सिफारिस गर्ने भनिएता पनि प्रदेश र क्षेत्रबाट आएका सबैको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । कञ्चनपुरका सबै क्षेत्रको प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी जिल्ला कार्यसमितिले २ सय ८ उम्मेदवारको नामा सिफारिस गरेको छ ।  

यस्तै सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार सिफारिस भएका छन् । उनी यसअघि २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । ०७४ अघि उनी समानुपातिक सांसद हुन्थे । संसदीय चुनावमा भोजपुरबाट निर्वाचन लड्दै आएका उनी कहिल्यै विजयी हुन नसकेपनि समानुपातिकमा बस्दै आएका थिए । ०७४ मा सुनसरी ४ मा प्रत्यक्ष निर्वाचनमा सहभागी उनी विजयी भएका थिए । 

यस्तै कांग्रेस नेतृ सुजाता कोइराला मोरङ २ बाट सिफारिस भएकी छिन् । उनीसँगै उक्त क्षेत्रबाट मिनेन्द्र रिजाल पनि सिफारिस भएका छन् । मिनेन्द्र उक्त क्षेत्रका हालका निर्वाचित सांसद हुन् । कोइराला ०७४को समानुपातिक सांसद हुन् । यस वर्ष उनी आफ्नो बुबाको क्षेत्र (गिरीजा प्रसाद कोइराला) बाटै चुनाव लड्ने भन्दै मोरङ २ मा केन्द्रित भएकी छिन् । 

उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट प्रत्यक्ष तर्फबाट उम्मेदवारको सिफारिस भएकी छिन् । उनीसँगै मुक्ति श्रेष्ठको पनि प्रत्यक्षमा नाम सिफारिस भएको छ । उनी ०६४ मा प्रत्यक्ष निर्वाचित भएकी थिइन् । ०७० मा भने टोप बहादुर रायमाझीसित पराजित भएकी थिइन् । ७० मा भने उनी समानुपातिक तर्फबाट सांसद भएकी छिन् । 

 नेतृ डिला संग्रौलाले मोरङ क्षेत्र नम्बर ६ र २ बाट मनोनयन दर्ता गराएकी छिन् । उनलाई जिल्लाले सिफारिस गरेपनि टिकट पाउने सम्भावना भने निकै कम देखिन्छ । उक्त क्षेत्र कांग्रेस नेता डा. शेखरको पनि क्षेत्र हो । उनी ०७४ मा प्रतिनिधिसभामा समानुपातिबाट सांसद भएकी थिइन् । 

कांग्रेस नेतृ सरिता प्रसाई झापा २ बाट सिफारिस भएकी छिन् । उनले अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी भएकी छैनन् । ०७० मा समानुपातिक सांसद भएर कृषि राज्य मन्त्री भइन् ।  ०७४ मा उनी राष्ट्रिय सभा सदस्य भएकी थिइन् ।


Author

थप समाचार
x