दल

एमाले सिध्याउने विदेशी शक्ति हो : कमल थापा

इकागज |
भदौ २५, २०७९ शनिबार १८:१२ बजे

मकवानपुर- गृह जिल्ला मकवानपुर आएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको आडमा एमालेलाई सिध्याउने खेल भैरहेको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठबन्धन निर्माण भएको बताएका हुन् ।


चुनावी प्रचारका लागि हेटौंडा आएका थापाले गठबन्धनको विरुद्ध एमाले बलियो हुनुपर्ने बताए । उनले राप्रपा तहसनहस पार्न पनि विदेशी शक्तिको हात रहेको बताउँदै भने, 'हिजो एमाले सक्नको लागि एक भएका विदेशी शक्ति आज राप्रपा नेपालविरुद्ध लागिपरेको छ ।'

हेटौंडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू-भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको बताए ।

कुनै समय एक अर्काको टाउको काट्न तम्सिने माओवादी र कांग्रेसको सत्ता गठबन्धन के कारणले भयो भन्ने प्रश्नको जवाफ जनताले बुझिसकेको उनकाे भनाइ छ । अध्यक्ष थापाले राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस-माओवादीको प्रयोग गरेको उल्लेख गरे ।

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दीविरुद्ध कडा रूपमा उभिएका कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप लगाए ।

उनले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरू एक हुन जरुरी रहेको समेत स्पष्ट पारे । थापाले चुनाव जितेपछि सरकार बनाउन गठबन्धन बनाउनु स्वभाविक भएपनि चुनाव मै गठबन्धन हुनु स्वभाविक हुँदै नभएको बताए ।

'जनताको मन जितेर काम गर्नेभन्दा पनि विदेशीको आडमा पैसाको भरमा चुनाव जितेर जानेहरूले जनतामाथि शासन गर्नेछन्, सबैले यही बुझ्नु पर्छ,' थापाले भने ।


Author

थप समाचार
x