दल

रुपन्देही-१

घनश्यामलाई कांग्रेसको भर, छविलाललाई एमालेकै डर

विक्रम खड्का |
कात्तिक २१, २०७९ सोमबार १४:१८ बजे

बुटवल - रुपन्देहीमा रहेका पाँच वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ सबैभन्दा बढी चर्चामा छ । दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएको क्षेत्रमा एमाले छोडेका घनश्याम भुसाललाई सत्ता गठबन्धनले बोकेको छ । उनै भुसालसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई पार्टीकै बागी उम्मेदवारको डर देखिएको छ । 

एमालेले जित्दै आएको क्षेत्रमा यसपटक समीकरण फेरिएको छ । हिजो माओवादीसँग तालमेल गरेर जितेको क्षेत्र न १ मा यसपटक सत्ता गठबन्धनले त्रिभुज चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्यामलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी , राष्ट्रिय जनमोर्चा र जनमुक्ति पार्टीको समर्थन रहेको छ ।  


एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ ।  एउटै पार्टी कमिटीमा लामो समय काम गरेका भुसाल र विश्वकर्माले अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । भुसालले एमालेले प्रतिस्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिँड्नेको कुनै विश्वास नहुने भन्दै मत मागिरहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गत वर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुवैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएरसँगै पोलिटब्यूरोमा उक्लिएका थिए । 

पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही–१ का मतदाताहरू भने अलमलमा परेका छन् । 

यही क्षेत्रमा पर्ने तिलोत्तमा ७ का मतदाता विमल न्यौपानेले दुवै नेताका आ–आफ्नै विशेषता भएकाले अलमलमा परेको बताए । ‘उहाँहरूबीच कडा प्रतिस्पर्धा कडा हुने देखिन्छ, । रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् । स्थानीयको निर्वाचनको मत हेर्दा विश्वकर्माको मत बढी छ । तर, भुसालले एमालेकै मत तान्ने भएपछि चुनावी नतिजा भन्नै नसकिने अवस्थामा छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भएका थिए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भए । त्यस बेला रज्जाकका निकटतम् प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा नै थिए । २०७४ मा वाम गठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो । 

यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ । कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत छन् । यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही–३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणसँग बाक्लिएको छ । 

प्रतिनिधि सभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ । एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उनलाई आउन कठिन छ । भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । राप्रपाका नेता बोहोरा र भुसालबीच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए ।

छविलाललाई चापाकलको चिन्ता

नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईले रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमाले देवदहको नगर अध्यक्ष पद त्याग गरि रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका चापागाईंले चुनाव चिह्न चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिका छन् । उनी अन्तिमसम्म कायम रहे एमालेको केही भोट काट्ने निश्चित छ । जसका कारण छविलाल चिन्तित छन् । एमाले जनवादी केन्द्रीयताबाट चुकेको र निरंकुश प्रवृत्ति हाबी भएको आरोप लगाउँदै चापागाईंले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

त्रिभुज बुझाउँदैमा हैरान 

लामो समय एमालेमा राजनीति गरेर चुनाव चिह्न सूर्यमा भोट हाल्न सिकाउने घनश्याम भुसालको चुनावी प्रचार यसपटक फरक शैलीको छ । उनले यसपटक सूर्य नभएर त्रिभुज चुनाव चिह्नमा भोट हाल्न मतदातालाई आग्रह गरेका छन् । 

चुनाव चिन्ह बुझाउनै भुसाललाई हैरान परेको छ । विभिन्न दलका कार्यकर्ताहरूलाई उनको चुनाव चिह्न चिनाउन सकस भएको प्रतिक्रिया दिएका छन् । 

भुसालले सामाजिक सञ्जालमा पनि त्रिभुजको प्रचारलाई बढी जोड दिएका छन् । पार्टी नभएर स्वतन्त्र उम्मेदवार भएकोले आफ्नो सचिवालय छुट्टै नभएको भुसाल बताउँछन् । त्यसैले पनि भुसाल गाई पूजादेखि छठपूजासम्म कांग्रेसका नेताहरूसँगै हिँड्ने गरेका छन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x