दल

सतही रूपमा घरदैलो तथा सभा गर्दै उम्मेदवार

इकागज |
कात्तिक २७, २०७९ आइतबार ११:१९ बजे

मकवानपुर - आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी अभियान चलिरहँदा आफ्नो प्रतिस्पर्धी दल तथा उम्मेदवारलाई गालीगलौच गर्ने क्रम समेत बढेको छ । अर्को दलका शीर्ष नेतालाई उछितो काढ्ने र आफ्नो गुणगान गाउनमै समय खर्चिँदैछन् उम्मेदवारहरू । निर्वाचनको मर्म र आ-आफ्नो मूल मुद्दा जनतालाई बुझाउन सकेको देखिँदैन ।

मकवानपुरको सन्दर्भमा समेत उम्मेदवारहरू मुल मुद्दामा भन्दा सतही रूपमा घरदैलो तथा सभा गर्दैछन् । भ्रातृ संघ संगठनले गरेको अन्तरक्रियामासमेत उम्मेदवारको भाषणमा समेत मूल विषयले प्रवेश पाउँदैन । मकवानपुरको हेटौंडामा भएको गठबन्धन दलको नगरस्तरीय युवा भेलामा प्रतिनिधि सभा २ का उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई दासहरूको झुण्ड थुपारेको आरोप लगाए ।


केपी ओलीसँग दासको झुण्ड मात्र छ : खतिवडा

सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य खतिवडाले एमाले अध्यक्ष ओलीसँग दासहरू मात्र रहेको छ, चुनावको नतिजापछि कोही नहुने दाबी गरेका छन्  ।

युवा भेलामा उनले यो चुनावमा एमाले पत्तासाफ हुने बताए । ‘२ तिहाइको सरकार ढल्यो । पार्टी फुट्यो । स्थानीय निर्वाचनमा लज्जास्पद हार हुँदा पनि अझै एमाले अध्यक्षको चेत खुलेको छैन’, उनले भने, ‘ओली कम्युनिस्टको नाममा कलंक भएर निस्किए ।’ एमालेले देशद्रोही, विखण्डनकारी, दमनकारी र मन्डलेसँग एकता गरेको आरोप लगाउँदै उनले यसबाटै एमालेको नीति र विचार प्रष्ट भएको बताए ।

गठबन्धनको माहौल देखेर विरोधिहरू अत्तालिएको उनको आरोप थियो । चुनावको समयमा हुनसक्ने चलखेलको विषयमा सतर्क रहन र मतदातालाई बुझाउन खतिवडाले युवाहरूलाई अनुरोध समेत गरे । ‘गठबन्धनको उद्देश्यसहित आफ्ना नेताहरूको पहलमा भएका राम्रा कामहरूको विषयमा समेत जनतालाई बुझाउने कार्यमा लाग्न युवाहरूलाई अनुरोध गर्दछु’, उनले भने । गठबन्धनले हारे मुलुकमा फेरि प्रतिगमनको खतरा हुने उनको भनाइ थियो ।

चुनाव जितेपछि पनि जनतासँगै हुनेछु : डिना
सत्तारूढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् ।

मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरू गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तिमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् ।

लोकतान्त्रिक–वाम गठबन्धनको हेटौंडा उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरूको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें । जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।’ पटक पटक मन्त्री र माननीय भएकाहरू पनि अहिले आफूसँग प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरूले मकवानपुरको विकासमा के गरे त्यो खोज्न अनुरोध गरिन् ।

‘चुनावमा मत नपुगे पनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौं’, उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् त्यसपछिको पाँच वर्ष हेर्नुहोस् ।’ मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरूको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

आफूहरू गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिवद्धता डिनाले जनाइन् । बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सृजना गर्ने डिनाले योजना सुनाइन् । गर्व गर्न लायक प्रदेश राजधानी बनाउने उनको भनाइ थियो ।

बोलेको कुरा पूरा नभए अर्को पटक आउँदैनौं : पराजुली
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले ‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने काम बोल्दैनौं भनेका छन् । युवा भेलामा उनले भने, ‘तपाईंहरूको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’

एमालेले जनमतको अपमान गरेकोले अहिले उसँग कुनै एजेण्डा नै नभएको आरोप समेत पराजुलीले लगाएका छन् । एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दाबी गरे ।

‘एमालेका असली नेता कार्यकर्ताहरू अहिले पीडामा छन् । एमालेमा वर्षौं काम गरेका नेताहरूलाई पाखा लगाएर व्यवस्था विरोधिलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक भोट माग्नै नआउने उनको भनाइ थियो ।

पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे । जागरुक युवाहरूले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने उनले सुझाव दिए ।

तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएल जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य राखेका थिए ।


Author

थप समाचार
x