दल

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

बाबुराम भण्डारी |
पुस १२, २०७९ मंगलबार १७:५१ बजे

विराटनगर- नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । आङ्बो नेकपा विभाजनपछि यसअघि पनि माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएका थिए ।

मंगलबार पार्टी नेतासहित बसेको बैठकले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य नारायणबहादुर मगरले जानकारी दिए । पाँचथर प्रदेशसभा (२) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका आङ्बो वर्तमान कामचलाउ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।


प्रदेश १ को सभामा ९ प्रत्यक्ष र ४ समानुपातिक गरी माओवादी केन्द्रका कूल १३ सांसद रहेका छन् । दलको नेता चयन भएका आङ्बोले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने बताए । उनले विगतको नेकपा सरकार र त्यसपछि बनेको गठबन्धन सरकारमा पनि माओवादी केन्द्रले दाबी छाडेकाले यसपटक प्रदेश १ मा मुख्यमन्त्री दाबी गर्ने बैठकले निर्णय गरेको बताए ।

माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि तेह्रथुम (२) बाट निर्वाचित भएका दुर्गाप्रसाद चापागाईंले समेत दाबी प्रस्तुत गरेका थिए । उनले तत्कालीन अवस्थामा पनि दलका अरू सांसदले अवसर नपाएको तथा दलको नेताको भूमिका सही रूपमा निर्वाह नगरेको भन्दै आङ्बो पछि बसेर अरूलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

चापागाईं माओवादीभित्र बर्षमान पुनको ‘लाइन’ का नेता हुन् भने आङ्बो जनार्दन शर्मा निकट रहेका माओवादी स्रोतले जनाएको छ । अहिलेको संसद्‍मा प्रतिनिधित्व गर्ने सभा सदस्य चापागाईं निकट रहेको माओवादी स्रोतको दाबी छ । तर, सरकार निर्माणका क्रममा देखिएको नयाँ राजनीतिक परिस्थितिले उनीहरू समूहगत रूपमा खुल्न नचाहेको जनाइएको छ ।

उनले विगतको पाँच वर्षमा संसद्‍ भित्र अवसरहरूको वितरण सही तरिकाले नभएको भन्दै सोमबार आयोजित शपथ ग्रहण कार्यक्रममै असन्तुष्टि पोखेका थिए । 
‘कम्तीमा पार्टीभित्र सबैले आलोपालो अवसरहरूको सही ढंगले विनियोजित गरौं, सल्लाहले नै अवसरहरू वितरण गर्न सक्छौं, माओवादीभित्र अघिल्लो पटक सरकार बन्दै गर्दा र दोस्रो पटक बन्दा पनि त्यो कुरालाई हामीले सही ढंगले व्यवस्थित गर्न सकेनौं,’ उनले भनेका थिए ।

दलको नेतामा आफ्नो दाबी रहने बताउँदै आएका चापागाईंले मंगलबारको बैठकमा पनि आफ्नो अडान राखेको बैठकमा सहभागी एक सांसदले बताए ।

तर, पार्टीका तर्फबाट केन्द्रीय सचिव एवं प्रदेश १ का इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरूले सहमतिका लागि दबाब दिएका थिए । दलको नेता चयन भएका आङ्बोले बैठकमा आफू प्रदेश १ को भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका कारण त्यसका लागि बाटो खोल्न चापागाईंलाई दबाब परेको जनाइएको छ ।

दलको नेता चयन भएपछि प्रतिक्रिया दिँदै आङ्बोले बैठकबाट प्रदेश १ मा माओवादी केन्द्रलाई मुख्यमन्त्रीका लागि पहल गर्ने निर्णय भएको बताए । उनले आफू फेरि बन्ने सरकारमा मन्त्री बन्नकै लागि दलको नेता नभएको उनले दाबी गरे ।

‘मैले निर्वाचन जानुअघिदेखि के भन्दै आएको छु भने मैले करिब चार वर्ष प्रदेशको अर्थमन्त्रीको भूमिका निर्वाह गरे र प्रदेशको निम्ति मैले पर्याप्त ज्ञान हासिल गरिसकेको छु । फेरि मन्त्री भइरहनु भनेको त जागिर खान गएजस्तो मात्रै हुन्छ,’ उनले भने, ‘मैले हासिल गरेको ज्ञान र अनुभवलाई कार्यान्वयन गर्नका निम्ति मैले मुख्यमन्त्री पाउनु पर्छ ।

उनले अगाडि भने, 'मैले संसदीय दलको नेता हुनुपर्छ भनेर पार्टीसँगै दाबी गरेको थिएँ । माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा मेरो मुख्यमन्त्रीमा दाबी रहन्छ, दलको नेता भएका कारण त्यो बाटो खुलिसकेको छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x