दल

सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव

इकागज |
पुस २२, २०७९ शुक्रबार १६:५४ बजे

काठमाडौं– सत्तारूढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पारेको हो । कार्यक्रमकाे अन्तिम मस्यौदा भोलि (शनिबार) छलफलका लागि शीर्ष नेताहरूलाई बुझाइँदै छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा कार्यदल सदस्य मुकुल ढकालले कार्यक्रम १३ पृष्ठ लामो भएको जानकारी दिए । उनले प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, प्रविधिलगायत विभिन्न विषय समेटिएको बताए । इकागजसँग कुराकानी गर्दै प्रवक्ता ढकालले भने, ‘यसमा सुशासन, भ्रष्टाचार नियन्त्रण, संविधान कार्यान्वयन, पुराना ऐन तथा कानुनलाई संशोधन गर्नेलगायतका विषय समावेश गरिएका छन् ।'


उनले अगाडि भने, ‘हामीले मस्यौदा बुझाएका छौँ । त्यो अब शीर्ष नेताहरूले छलफल गरेर पारित गर्नुहुनेछ ।’

त्यस्तै, कार्यक्रममा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव पनि गरिएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा कार्यदल सदस्य धवल शमशेर राणाले पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाउने र सार्वजनिक बिदा दिने कुरा समेटिएकाे पुष्टि गरे ।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, रास्वपाका ढकाल र राप्रपाका राणा, रकम चेम्जोङ रहेका छन् । 
 


Author

थप समाचार
x