दल

माओवादी केन्द्रले भन्याे : राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ

इकागज |
माघ २१, २०७९ शनिबार १६:५७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उल्लेख गरे ।


आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको उनले बताए । उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको जिकिर गरे । 

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरू फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए । उनले पार्टी संगठन सदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने भनाइ राखे । यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए ।

उपाध्यक्ष महराले पार्टीसंग सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरू परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए ।


Author

थप समाचार
x