दल

फरार रायमाझीबारे गुरुङले भने : एमाले कानुनको शासन मान्ने पार्टी हो, अनुसन्धानमा सहयोग गर्छ

इकागज |
बैशाख २६, २०८० मंगलबार १८:२५ बजे

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझीको विषयमा पार्टीले सहयोग गर्ने बताएका छन् । एमाले कानुनको शासन मान्ने पार्टी भएकाले अनुसन्धान प्रक्रियामा सहयोग गर्ने गुरुङकाे भनाइ छ । 

‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । कानुनको परिपालना गनुपर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरू हामी गर्छौँ । कामरेड टोपबहादुर रायमाझीको अनुसन्धानको सन्दर्भमा बाहिर आएको छ,’ मंगलबार पार्टीको २१ औँ केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘एमाले विधिको शासन मान्ने पार्टी भएकाले कानुनपूर्वक अनुसन्धान प्रक्रियामा सघाउ पुर्याउने हाम्रो निर्णय हो ।’


उनले यस विषयमा लामो छलफल र निर्णय गरिराख्नुपर्ने विषय नरहेको पनि उल्लेख गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा एमाले सचिव रायमाझी पनि मुछिएका थिए । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् । 
 


Author

थप समाचार
x