दल

सरकारको कार्यक्रम गन्तव्यहीन छ, यसलाई समर्थन गर्न सकिँदैन : एमाले अध्यक्ष ओली

इकागज |
जेठ ६, २०८० शनिवार १७:१४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुवर्षीय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन् ।


नीति तथा कार्यक्रममा समावेश विषयहरूलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे । उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरू पनि सन्तोषजनक नरहेको बताए ।

सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई विकास गर्ने विषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको ओलीले बताए। ​मिठा-मिठा शब्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उनले समाजप्रति गम्भीर नभइ कार्यक्रम आएको उल्लेख गरे ।

उनले अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सबलीकरण गर्ने विषय समावेश नभएको जिकिर गरे । अहिलेको अवस्थामा खर्च घटाउने भने पनि कसरी घटाउने भन्ने विषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसदमा यसको विरोध गर्न सांसदहरूलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताए ।


Author

थप समाचार
x