दल

‘आफ्ना मान्छे मुछिने डरले सुन प्रकरणमा सरकार उच्च स्तरीय छानबिन समिति बनाउन तयार छैन’

कमल विष्ट |
साउन २३, २०८० मंगलबार १५:३० बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएको बताएका छन् । यस प्रकरणमा निष्पक्ष उच्च स्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुको साटो सरकारले आफ्ना मान्छे मुछिने डरले अनावश्यक अडान राखिरहेको उनले आरोप लगाए । 

इकागजसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘सुन प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउँदा सबै आफ्ना मान्छे पर्छन् भन्ने डर सरकारलाई छ । त्यसैले, ऊ अनावश्यक अडान राखिरहेको छ ।’


सदनको अवरोध हटाउने छलफलका नाममा सरकार एमालेलाई थकाउन लागिपरेको उनको भनाइ छ । सरकार जनताको माझमा एमालेलाई बदनाम गराउन लागेको आराेप उनकाे छ । ‘वार्ताका नाममा सरकारले एमालेलाई कहिले यता बोलाएको छ, कहिले उता । एमालेकै कारण संसद् अवरोध भइरहेको छ भनेर सरकार जनतामाझ भ्रम छर्न खोजिरहेको छ,’ उनले भने, ‘यस्तो खालको खेतिपाती र षड्यन्त्रमा सरकार लागेको छ । यो दुःखद कुरा हो । यस्तो खालको काममा लागेर सरकारले देशलाई बन्धक बनाउनु हुँदैन थियाे ।’

सुन तस्करी प्रकरणमा संसदमा सरकारको जवाफ सुन्न आफूहरू तयार रहेको उनले बताए । तर, जवाफ चित्त बुझ्दाे नभए संसद् अगाडि बढ्न नदिने उनले उल्लेख गरे । ‘यस प्रकरणमा प्रधानमन्त्री बोल्नुहुन्छ कि गृहमन्त्री, जसले बोले पनि जवाफ चित्त बुझ्दो हुनुपर्छ,’ उनले भने, ‘नत्र हाम्राे विरोध जारी रहन्छ ।’

साउन २ गते त्रिभुवन विमानस्थलमा करिब एक क्विन्टल अवैध सुन बरामद गरिएको थियो । एमालेले उक्त सुन तस्करीमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै दुई सातादेखि संघीय सदनका दुवै संसद् अवरोध गर्दै आएको छ । एमालेको अवरोधकै कारण साउन १० यता बोलाइएका तीन प्रतिनिधिसभा बैठक सूचना टाँस गरि स्थगित भएको छ । 

त्यसो त सदनको अवरोध हटाउने विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षीबीच पटकपटक छलफल भएका छन् । तर, ती सबै बैठक निरर्थक भए । सरकारले यस प्रकरणमा उच्च स्तरीय छानबिन समिति आवश्यक नरहेको बताउँदै आइरहेको छ ।

मंगलबार बिहान तीनै दलका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठक पनि निष्कर्षविहीन भयो । सचेतक बर्तौलाले सरकार उक्त प्रकरणमा आफ्ना मान्छे मुछिने डरले उच्च स्तरीय छानबिन समिति बनाउन तयार नभएकाले बैठक निष्कर्षविहीन भएको आरोप लगाए ।

संसद् अवरोधको चौतर्फी विरोध 

एमालेले सरकार भ्रष्टाचारमा संलग्न रहेको भन्दै संसद् अवरुद्ध गरिरहँदा रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरू विरोधमा उत्रिएका छन् । कारण जेसुकै होस्, संसद् अवरुद्ध गर्न नपाइने उनीहरूको तर्क छ । रास्वपाले ‘संसद अवरोध हटाऊँ’ भन्दै अभियान नै चलाएको छ । रास्वपा सभापति रवि लामिछानेले सत्तापक्ष र प्रतिपक्षको बैठकलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । संसदको अवरोध नहट्दा देशलाई ठूलो घात भइरहेको लामिछानेको भनाइ छ । 

सोमबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ । कयौँ कानुन बनाउनु पर्ने छ, कयौँ कानुनमा संशोधन छन् । जनसरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ । तर, संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।’

राप्रपाले सुन तस्करी प्रकरणमा एमालेले भाग खोजेको आरोप लगाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमालेले सत्ता गठबन्धनसँग अनावश्यक भाग खोजेका कारण संसद् अवरोध हुन पुगेको बताए ।

एमालेको यस कदमको विरोध गर्दै उनले इकागजसँग भने, ‘पटकपटक यसरी सिन्डिकेट बनाएर यिनीहरूले मुलुक देश बर्बाद पारे । हामी यसको घोर विरोध गर्दछौँ ।’

प्रतिपक्षी दलहरू मात्र होइन, एमालेले गरिरहेको संसद् अवरोधको चौतर्फी विरोध भइरहेको छ । 

प्रतिनिधिसभा मंगलबार दिउँसो तीन बजेलाई बोलाइएको छ । शीर्ष दलहरूबीच सहमति नजुट्दा आजको बैठक पनि स्थगित हुने सम्भावना भने कायमै छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x