दल

भीम रावलको निष्कर्षः निषेधको राजनीतिले पार्टी बलियो हुँदैन

कमल विष्ट |
मंसिर १५, २०८० शुक्रबार १४:३० बजे

फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले संगठन बिस्तार र सुदृढीकरणको उद्देश्य बोकेर देशव्यापी अभियानमा छ । एमालेले हिजो बिहीबारबाट ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नामक अभियान सुरु गरेको छ । 

पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट हिजो बैतडीको झुलाघाटमा एक समारोहबीच सुरु भयो । उक्त यात्रामा अध्यक्षसहित पार्टीका शीर्ष नेताहरू सहभागी थिए । तर, यो अभियानमा सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल भने सरिक थिएनन् । कारण थियो, पार्टीले उनलाई उपस्थितिका लागि नबोलाउनु । 


त्यसो त उनलाई प्रदेश अध्यक्षले फोन गरेर कार्यक्रममा निमन्त्रणा गरेका थिए । तर, पार्टीले आफूलाई जानकारी नदिएको भन्दै अध्यक्ष ओलीबाट निम्तो खोजे । ओलीको सचिवालयले यसको जिम्मा महासचिव शंकर पोखरेललाई दियो । महासचिव पोखरेलले भने उनलाई बोलाउन आवश्यक ठानेनन् । आफू उपस्थित नहुनुको कारणबारे रावलले सामाजिक सञ्जाल ट्वीटरमा बेलिबिस्तार लगाएका छन् । 

जीवनको उर्जाशील र महत्वपूर्ण समय दिएको आफ्नै पार्टीको यस्तो व्यवहारले दुखी छन् रावल । पार्टी उपाध्यक्षसम्म बनेका उनले पार्टीले आफूसँग यो स्तरको अपमानजनक व्यवहार गर्ला भन्ने सोचेकै थिएनन् । पार्टीले आफूमाथि फेरि निषेधको राजनीति गरेको उनको ठहर छ । 

‘मलाई त्यहाँ सहभागी हुन प्रतिकूल अवस्था सिर्जना गरियो । सहभागी हुने अवस्था बनाइएन,’ इकागजसँगको कुराकानीमा उनले भने । 

उनले थपे, ‘मलाई त्यहाँ किन बोलाइएन यसको उत्तर उहाँहरूलाई थाहा होला । तर, यस्तो पाराले पार्टी बलियो होला भन्ने मलाई लाग्दैन ।’

५ पुस २०७७ मा संसद् विघटन गर्दा ओलीलाई रावलले साथ दिएनन् । उनी ओलीविरुद्ध गए । १० औँ महाधिवेशनमा पनि रावलले ओलीलाई सर्वसम्मत अध्यक्षका रुपमा स्वीकारेनन् । उनी अध्यक्षको प्रत्याशी बने । आफूविरुद्ध गएपछि ओली–रावलबीच तिक्तता बढ्यो । 

यही तुष राखेर ओलीले रावललाई गत सालको संसदीय चुनावमा टिकटसम्म दिएनन् । यसले दुईबीचको दूरीलाई थप ठूलो बनाएको थियो । तर, गत साउनमा ओली–रावलबीच ‘वान टू वान’ भेटवार्ता भएपछि दुईबीचको सम्बन्ध सुधार भएको अपेक्षा गरिएको थियो । तर, हालकै परिस्थितिले त्यो देखिएन । 

उक्त वार्ताले तपाईंहरूबीचको सम्बन्ध सुधार्न सकेको रहेनछ है ? भन्ने हाम्रो प्रश्नमा रावलले यसलाई सम्बन्ध सुधार र बिगारको रूपमा नहेर्न आग्रह गरे । ‘मैले यसलाई व्यक्ति व्यक्तिबीचको सम्बन्ध सुधार र बिगारका रूपमा हेरेको छैन । यस सम्बन्धमा उहाँहरूले वार्ता कमिटी बनाउनुभयो । अध्यक्षज्यू र मेरो कुराकानी भयो,’ उनले भने । 

रावलले अगाडि भने, ‘उहाँहरूले फेरि कुराकानी हुन्छ भन्नुभएको थियो । तर, त्यसपछि उहाँहरूले यसमा कुनै चासो देखाउनुभएन । यसबाट के प्रतीत हुन्छ भने त्यो भेटघाट लोकलाई देखाउनमात्रै गरिएको थियो ।’ 

उनले पार्टीले आफूलाई निषेध गरेको आरोप लगाइरहँदा एमालेका एक पदाधिकारी भने यसलाई अस्वीकार गर्छन् । पार्टीले रावललाई कुनै पनि हिसाबले निषेध गर्न नखोजेको बताउँदै ती पदाधिकारीले भने, ‘आफ्नो क्षेत्रमा अभियान चलिरहेको छ । उहाँले स्वविवेक प्रयोग गरेर यसमा सहभागी हुनुपर्ने हो, नेतृत्व लिनुपर्ने हो । तर, उहाँ बोलाइएन भनेर अनावश्यक बखेडा खडा गरेर बसिरहनुभएको छ ।’
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x