दल

राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन कांग्रेस युवा नेताहरुको सभापतिलाई ध्यानाकर्षण

इकागज |
पुस १५, २०८० आइतबार ९:७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनमा पार्टीमा अवसर नपाएकालाई अवसर दिन ध्यानाकर्षण गराएका छन् । शनिबार १२ पूर्व केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई पार्टीको प्रतिबन्धित कालदेखि प्रजातन्त्र पुनःस्थापित भएर ३४ वर्षसम्म निरन्तर समर्पित व्यक्तिहरूलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न ध्यानाकर्षण गराएका हुन् । 

संसदीय राजनीतिमा एकपटक पनि अवसर पाउन नसकेकाहरुमध्येबाट उम्मेदवार बनाउन उनीहरूले आग्रह गरेका छन् । साथै उनीहरूले कांग्रेसका तर्फबाट संघीय, प्रदेश र स्थानीय तहका सरकारमा सम्मिलित  पार्टीका तहगत समितिका साथीहरू बीच समन्वय र सहकार्यको लागि तत्काल ठोस पहल गर्न पनि पार्टी सभापतिको ध्यानाकर्षण गराए । उनीहरूले सरकारलाई प्रभावकारी ढंगले संचालन गरि सुशासन कायम गराउन ठोस पहल गर्न आग्रहसमेत गरे । 


कांग्रेसको केन्द्रीय समिति बैठक तीन दिन चलेको थियो । उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारका काम कारबाही, समसामयिक विषयमा छलफल भएको थियो । कांग्रेसले केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।  

 


Author

थप समाचार
x