दल

बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमान : लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन

इकागज |
पुस १६, २०८० सोमबार १७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताएका हुन् । उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको जिकिर गरे ।


उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको भनाइ राखे । घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाइ छ । उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए । उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिच्किचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई अपील समेत गरे । उनले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालीन नेताहरू कुनै न कुनै रूपमा विपी कोइरालाकै स्कुलिङबाट दीक्षित भएका बताए । उनले विपी कोइरालालाई नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्वको रूपमा चित्रण पनि गरे । 

 


Author

थप समाचार
x