दल

रिसोर्ट खोल्न अनुमत्ति नदिएको भन्दै सांसद खड्का आक्रोशित, मन्त्रालयमै अनसन बस्ने धम्की

मन्त्री भन्छन्: कर्मचारीले टेर्दै टेरेनन्

इकागज |
पुस १७, २०८० मंगलबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् । 

रिसोर्ट सञ्चालनको फाइल चार वर्षसम्म मन्त्रालयमा थन्काएर राखिएको भन्दै खड्काले वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका हुन् । उनले सबै निकायको सहमति जुटाएर फाइल पेस गर्दा नियतवस रोकिएको दावी गरे । मुलुकमा रोजगारी सिर्जनाका साथै आर्थिक क्षेत्रलाई सहयोग पुर्याउन रिसोर्ट खोल्न लागेपनि समयमा नै अनुमति नदिएर करोडौं नोक्सानी भएको उनले बताए । उनले आफ्नो फाइल रोकिनुको कारणको जानकारी नपाए मन्त्रालयमा नै अनसन बस्ने बताए । 


यता वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले शिवपुरी निकुञ्ज क्षेत्रमा रिसोर्ट खोल्दा पुरा गर्नुपर्ने मापदण्डमा समस्या देखिएकाले फाइल अघि बढ्न नसकेको बताए । उनले कानुनले तोकेबमोजिम दण्ड जरिवाना गरेपनि अन्य काम प्रक्रिया अनुसार हुन नसकेको देखिएको जिकिर गरे । । कर्मचारीले तोकिएको मापदण्ड विपरीत फाइल अघि बढाउन नमिल्ने उनले बताए । 

त्यस्तै वन मन्त्री विकेन्द्र प्रसाद महत्तोले यसमा जरिवाना तिरिसकेपछि पनि फाइल रोकेर राख्नु कर्मचारीको नियतको प्रश्न रहेको बताए । उनले कर्मचारीले आफूलाई नटेर्ने भन्दै वन मन्त्रालयको कुनै औचित्य नरहेको बरु वन विभाग मात्रै राख्न प्रधानमन्त्रीलाई सुझाव दिए । 

त्यस्तै मन्त्री महत्तोले वन मन्त्रालयमा नियमसंगत आएका अन्य फाइलहरूलाई पनि कर्मचारीहरूले रोक्ने गरेको गुनासो गरे । 


Author

थप समाचार
x