दल

अहिलेको व्यवस्था असफल भयो, जनआन्दोलनको तयारी गरौं : कमल थापा

इकागज |
पुस १७, २०८० मंगलबार १७:७ बजे

बर्दीबास - राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था असफल भएको भन्दै व्यवस्था परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

आज महोत्तरीको बर्दीबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको भन्दै अहिलेको लथालिङ्ग भताभुङ्ग अवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको बताए ।


सनातन धर्म संस्कृति पहिचान संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने विचार व्यक्त गरे ।

धर्म परिवर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनको निमित्त सम्पूर्ण राष्ट्रवादी,प्रजातन्त्रवादी र देशभक्तहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजीव पराजुलीले राप्रपा नेपालको नीति विचार उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैमा आग्रह गरे ।

प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र ,जिल्ला,नगरका प्रतिनिधिहरूको सहभागिता रहेको पार्टीले जनाएको छ ।


Author

थप समाचार
x