दल

एमाले महोत्तरी अधिवेशन : सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरु

इकागज |
माघ २४, २०८० बुधबार १५:१ बजे

महोत्तरी- नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

माघ २२ गतेबाट सुरु भएको अधिवेशन सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरूले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुई वटा गुटले यादव र सिंहलाई साथ दिएका छन् ।


एमाले महोत्तरीका नेताहरूका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र  सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएकाे छ ।

एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरू सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।

दर्जनौँ पटक कहिले आन्तरिक कलह त कहिले नेताहरूको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ । खुलासत्रमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विश्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरूको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।


Author

थप समाचार
x