दल

समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली

इकागज |
माघ २७, २०८० शनिबार १९:२६ बजे

​काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पूरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको आरोप लगाए । 


‘चालु आर्थिक वर्षको साउनदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउन थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण लिइसकेको छ । आर्थिक, कूटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्नेदेखि बहुआयामिक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ,’ उनले थपे, ‘यसरी फेरि पनि प्रचण्डजी कुर्सीमा टाँसिएर मात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धि देखिँदैन ।’

अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुई वटा शब्द थप्ने बाहेक अरू केही उपलब्धि हासिल नभएको उनले बताए । प्राकृतिक सम्पदाको खानीका रूपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उनले बताए । 

नेता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम भएको जानकारी दिए । 

‘जलस्रोतको अपार जल भण्डारको रूपमा रहेको कर्णालीको अपार कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुँदै, परियोजनाको एउटा चपरी पनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनु भएको छ । कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन । त्यसैले पनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन,’ उपमहासचिव ज्ञवालीले भने ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यद्वय मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल कल्पना थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।


Author

थप समाचार
x