दल

वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित छ : केपी ओली

इकागज |
फागुन ८, २०८० मंगलबार १४:३२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा मंगलबार पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता र मुलुकका मुद्दामा गठबन्धन केन्द्रित नरहेको र नितान्त एमालेको विरुद्ध केन्द्रित रहेको बताएका हुन् । एमाले माथिको प्रहार लोकतान्त्रिक अभ्यासबाट शान्तिपूर्ण तवरले परास्त गर्ने उनले बताए । ओलीले देशका लागि असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाए ।


जनतामा रहेका असन्तुष्टिलाई दक्षिणपन्थी प्रतिक्रियावादी भित्री र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको उनले बताए ।

सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउँदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे । उनले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मीठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको धारणा राखे ।  

अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै स्वतन्त्र पार्टी भन्नेहरू जन्मिएको  र असफल गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेको उनले बताए । ओलीले एमालेका विरुद्ध झुटो लान्छना लगाउने कामले देशका लागि कोही छैन भन्ने भाष्य सिर्जना भएको जिकिर गरे ।

यस्तै उनले गठबन्धनले आफूसँग देशलाई डुबाउन खोजेको भन्दै एमालेले देशलाई जोगाउँदै सुशासन र विकासलाई अघि बढाउनुपर्ने बताए । ओलीले शान्ति प्रक्रियाका कामलाई पीडितलाई न्याय दिने गरी छिटोभन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा एमालेको जोड रहेको पनि बताए ।

त्यस्तै ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको भन्दै यस विषयमा अदालतले गरेको फैसलालाई लिएर विरोधीले प्रचार गर्न खोजेको बताए । फागुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ । 


Author

थप समाचार
x