दल

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

इकागज |
फागुन ८, २०८० मंगलबार १९:४२ बजे

पाटन (ललितपुर)- हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज  पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए । 

त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरेका हुन् । 


उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । उनले भने, 'मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।'

महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेस गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए । उनले भने, 'पार्टीले  नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।'

महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताए । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताए । उनले एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताएका छन् ।

पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मासात् गर्ने बताए । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए । उनले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताए । 

त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाएका छन् । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराएका छन् ।

महासमिति बैठकमा आज पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।


Author

थप समाचार
x