दल

के हो नेविसंघमा चर्किएको विवाद ?

शुरज थपलिया |
फागुन १७, २०८० बिहीबार ७:५२ बजे

काठमाडौँ- नेविसंघको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा मंगलबार उद्घाटन भयो । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले करिब दुई वर्षअघि डुजाङ शेर्पालाई अध्यक्ष पायो । संघको पहिलो बैठकबाट विवाद सुरु भएको छ । 

पहिलो बैठकमा सहभागी सदस्यहरू जुन रूपमा उत्साहित हुनुपर्ने थियो त्यो देखिएन । उत्साहितभन्दा पनि निरुत्साहित हुने बढी देखिए । यतिखेर उक्त विवाद गुट-उपगुटको रूपमा छताछुल्ल भएको छ । संघको पहिलो बैठक वरिष्ठ नेता डा. शेखर कोइराला समूहले बहिष्कार गरेपछि विवाद सतहमा देखिएको नेविसंघका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘बैठकमा भने कोइराला समूहका कोही पनि सहभागी छैनन्,’ ती नेताले भने ।


२०७८ चैत ३ गते शेर्पालाई तदर्थ समितिको अध्यक्ष जिम्मेवारी तोकिएको थियो । झण्डै १६ महिनापछि संघको केन्द्रीय सदस्यहरू मनोनीत भए । अहिले केन्द्रीय समितिमा ७१० सदस्य छन् । शेर्पा अध्यक्ष भएको करिब २ वर्षपछि संघको पहिलो बैठक बसेको हो । संघको पहिलो बैठक भने विवादरहित हुन सकेन । जसले गर्दा संघमा आशाभन्दा निराशा र समाधान भन्दा समस्या निम्त्याउने देखियो । 

 के हो विवाद ?

नेविसंघको केन्द्रीय कार्यसमिति गठन गर्ने क्रममा सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच समिति जति बने पनि ६० प्रतिशत देउवा र ४० प्रतिशत कोइरालालाई दिने सहमति भएको थियो । ५०१ जनाको कमिटी बनाउने सहमति भएको थियो । 

नेविसंघका पूर्व सभापति रञ्जित कर्णका अनुसार कोइराला पक्षबाट २४० जनाको नाम उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत देउवालाई बुझाइएको थियो । तर, प्रकाशन गर्ने बेलामा ७१० जनाको नाम प्रकाशन भयो । त्यसमा पनि विद्यार्थी आन्दोलनमा अग्रपंक्तिमा रहेका र कोइराला टिमको भएकै कारण ११ जनाको नाम काटिएको थियो ।

७०९ मा २२९ हुँदा कोइराला पक्षको २३ प्रतिशत मात्रै सहभागिता केन्द्रीय समितिमा भएकाले नेविसंघभित्र विवाद सुरु भएको कर्णले बताए । ‘पार्टीभित्र सभापति देउवा र शेखरबीच एउटा सहमति भयो,’ उनले भने, ‘तर, लिष्ट फाइनल भएर आउँदा सहमति कार्यान्वयन भएन यसले पनि विवाद बढ्यो ।’

नेविसंघ अध्यक्ष शेर्पाको कार्यशैलीले पनि विवाद बढेको उनले दाबी गरे । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले भातृ संस्थाको जिल्ला अध्यक्ष तोक्दा पार्टीका जिल्ला सभापतिहरूको परामर्शमा निर्णय गर्ने भन्ने सहमति भएको थियो । तर, अध्यक्ष शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय नमानेर आफ्नो अनुकूल र नजिकका व्यक्तिहरूलाई जिल्ला सभापतिको जिम्मेवारी दिँदै गए । 

यता, कोइराला समूहले भने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय शेर्पाले मान्नैपर्ने अडान राख्यो । अहिले देशभरका १७ जिल्लामा नेविसंघको समानान्तर समिति रहेको पूर्वअध्यक्ष कर्ण बताउँछन् । क्याम्पसहरूमा त्यस्तै समितिहरू बनाएर विवाद बढाउने काम शेर्पाले गरेका छन् । पूर्व अध्यक्ष कर्णले नेविसंघको हालको शैली हेर्दा विभिन्न गुट-उपगुटसँग सल्लाह तथा छलफल गरेर केन्द्रीय समिति डाक्ने परिपाटी रहेको छ ।

‘पहिला पनि नेविसंघमा दुई समूह थियो,’ उनले भने, ‘बैठकको एजेण्डा बनाउने बेला छलफल गरेर सँगै एजेण्डा बनाउँथ्यौँ अहिले चाहि त्यस्तो गरेको देखिएन ।’  अहिले शेर्पाले पेलेर एकलौटी रूपमा बैठक गरिरहेको उनको आराेप छ । शेखर समूहले विभिन्न समस्याहरू सल्टाएर नेविसंघलाई चुस्ततुरुस्त बनाउन सल्लाह गरे पनि शेर्पाले कुनै मतलब नगरेको उनले बताए । 

कोइराला समूहकी केन्द्रीय सदस्य करिना पुरीले शेर्पासँग शेखर समूह पटक-पटक वार्तामा बसेको बताइन् । ‘हाम्रो माग भनेको नेविसंघभित्र ४० प्रतिशत भाग हामीले पाउनुपर्छ भन्ने हो र एकलौटी गरिएका जिल्लाहरूको निर्णय फिर्ता लिनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘हामीले पेपरमा नै हस्ताक्षर गरौँ भन्यौ उहाँ बैठकमा मौखिक सम्बोधन गर्छु भन्नुहुन्छ ।’

पार्टीमा न्यायोचित रूपमा पद वितरण नभएसम्म र सहमति बेगर अध्यक्ष शेर्पाले गरेका गतिविधि फिर्ता नभएसम्म आफ्नो समूहले केन्द्रीय समितिमा भाग नलिने उनले अडान दोहोर्याइन् । शेखर समूहले हिजै महाराजगञ्जमा आफू निकटका विद्यार्थीहरूको बैठक डाकेर केन्द्रीय समिति बहिष्कार गर्ने निर्णय गरिसकेको छ ।

देउवालाई नै टेर्दैनन् डुजाङ

​मंगलबार बिहान शेखर समूहका १५० बढी केन्द्रीय सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगे । भेटमा देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर लान भनेको नेविसंघ केन्द्रीय सदस्य पुरीले बताइन् ।

उनले सभापति देउवाको भनाइ उद्धृत गर्दै भनिन्, 'पार्टीमा त मैले शेखर समूहलाई ४० प्रतिशत हिस्सा दिइसके नेविसंघमा किन विवाद गरिरहेको सबैलाई मिलाएर लैजाउ भनेर सभापतिजीले भन्नुभयो ।' त्यसपछि अध्यक्ष शेर्पा र शेखर समूहका विद्यार्थी नेताका बीच पटक-पटक वार्ता भए पनि सहमति हुन सकेन । संघमा देखिएको विवादका कारण पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिएको पहिलो बैठकमा सभापति देउवा गएनन् । देउवा गुटका अन्य नेताहरू पनि गएनन् । अन्तिममा गुरु भट्टराईले बैठकको उद्घाटन गरेका थिए । 

शेखर समूहले माग्यो अध्यक्षको राजीनामा

बुधबार बसेको शेखर समूहको बैठकले अध्यक्ष डुजाङ शेर्पाको राजीनामा मागेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लाका जिल्ला सभापतिहरूसँग समन्वय नगरी विभिन्न जिल्लामा नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको भन्दै उनीहरूले शेर्पाको राजीनामा मागेका हुन् । १२ औँ महाधिवेशन गर्न देशभरका जिल्लाहरूमा सदस्यता वितरण, संकलन र संगठन विस्तारका लागि नेविसंघ केन्द्रीय तदर्थ समितिका सदस्यहरूलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गर्दै जिल्ला, प्रदेश, क्याम्पस र विश्वविद्यालयमा अधिवेशनका लागि प्रतिनिधि पठाउने निर्णय गरेको छ । 

जम्बो समिति हुँदा कामै गर्न गाह्रो 

विधानतः नेविसंघको केन्द्रीय समिति १०१ हुने व्यवस्था छ । तर, नेताहरूको आफ्नो स्वार्थको कारण अहिलेको केन्द्रीय समिति ७१० जनाको छ । विधानविपरीत नेताहरूको स्वार्थले नेविसंघ जम्बो र भद्दा बनाएको काँग्रेसका एक केन्द्रीय सदस्यले बताइन् । 

‘नेतैपिच्छे गुट छ त्यसका कारण पनि नेविसंघ भद्दा भयो,’ उनले भनिन्, ‘काँग्रेसमा मत नै नहाल्नेलाई पनि खोजी खोजी सदस्य बनाइएको छ ।’ काम गर्न भन्दा पनि कार्यकर्ता व्यवस्थापनका लागि नेविसंघ जम्बो बनाएको उनको आरोप छ । आफ्नो पालामा नेविसंघको छुट्टै अस्तित्व रहेको भए पनि अहिले चोक चोकमा केन्द्रीय सदस्यसँग कुम ठोक्किने अवस्था आएको उनले बताइन् । 

३२ वर्षमुनिका राख्दा समस्या 

केही वर्षअघिसम्म नेविसंघमा युवाभन्दा बुढाहरूको बाहुल्यता हुन्थ्यो । चार दशक बढी नभईकन नेविसंघको केन्द्रीय सदस्यसमेत हुन गाह्रो थियो । त्यसको आफ्नै महत्व पनि थियो । उनीहरू राजनीतिबारे धेरै कुरा बुझेका हुन्थे । नेविसंघको केन्द्रीय समिति ३२ वर्षभन्दा माथिका बनाउने कि तलका भनेर धेरै छलफल भए । अन्ततः ३२ वर्षभन्दामुनिकालाई नेविसंघ केन्द्रीय समिति बनाउने काँग्रेसको निर्णयअनुसार डुजाङ शेर्पा अध्यक्ष बने ।

उनी जस्तै ३२ वर्षमुनिका केन्द्रीय सदस्य बने । तर, उनीहरू राजनीतिमा त्यति खारिएर आएको नपाइएको काँग्रेसकै एक केन्द्रीय सदस्यले बताए । 'उनीहरूले भनेको न पार्टी सभापतिले नै मान्छन् न अरूले नै,' उनले भने, 'त्यसैले पनि विवाद धेरै बढेको हो ।'

के छ त समाधान ?

नेविसंघको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले देउवाकाे समूहबाट केन्द्रीय सदस्य तथा नेविसंघ पूर्व अध्यक्ष राजीव ढुंगाना र शेखर समूहबाट पूर्वअध्यक्षद्वय केशव सिंह  र रञ्जित कर्णलाई जिम्मा दिएका छन् । 

हाल देखिएको विवादमा धेरै कुरा मिल्दै गएको कर्णले बताए । अध्यक्ष शेर्पा र शेखर समूहकी केन्द्रीय सदस्य प्रेमिका रानामगरबीच विभिन्न विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x