दल

गृहमन्त्रीलाई कमल थापाको चुनौती : विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई कारबाही गरेर देखाउनू

इकागज |
चैत १, २०८० बिहीबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै बिहीबार काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका हुन् । उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगीको विषयमा पनि सही ढंगले छानबिन गर्न समेत चुनौती दिए ।


सरकार र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरे । हिजो जनयुद्धमा बन्दुक बोक्नेहरू खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरू रातारात अर्बपति भएको उनले बताए ।

राजनीतिक नेताहरूले अर्बौँ रुपैयाँ विदेशी बैंकमा लुकाएर राखेको आरोप समेत अध्यक्ष थापाले लगाए । उनले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरूलाई कमाउने भाँडो बनेको जिकिर गरे ।

अध्यक्ष थापाले विभिन्न क्षेत्रमा देखिएका समस्या राजनीतिक नेताहरूकै कारण भएको बताए । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गरेको हो ।


Author

थप समाचार
x