दल

एक्लियो भन्नेलाई बाबुरामको जवाफ : व्यक्ति केन्द्रित हैन मुद्दा केन्द्रित बहस गरौँ

इकागज |
चैत १०, २०८० शनिबार २१:४८:५ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्दा केन्द्रित बहस गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा जानुपर्ने बताएका छन् 


उनले भनेका छन्- 

धेरै महानुभावहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो । चिन्ता त्यता हैन यता गरौँ:

१.वर्षमा तीन चोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजिनरी नेतृत्व सहितको राजनीतिक स्थिरता कसरी हासिल हुन्छ ? लोकतान्त्रिक स्थिरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ ? यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने ?

२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अर्बौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भइसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संस्थाहरू मार्फत् भ्रष्टाचारीलाई कारबाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउँला’ भनेजस्तै हुन्न र ? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने ?

३. दशकौंदेखि ३-४ % भन्दा माथि आर्थिक वृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको,व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिँदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धराशायी हुँदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भइरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृद्ध बन्छ?  यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान् ? 

आदि इत्यादि ! अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन मुद्दा-केन्द्रित बनाउने कि ? बाबुरामहरू त इतिहासमा आउँछन् जान्छन् ! इतिहासले सबैको हिसाब राखिहाल्छ नि !  


Author

थप समाचार
x