दल

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुन्छ : ईश्वर पोखरेल

इकागज |
चैत १३, २०८० मंगलबार १९:१ बजे

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुर शाखाले मङ्गलबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले कोशीको नेतृत्व गर्ने विषयमा अहिलेको सत्ता गठबन्धनभित्र सहमति भएको बताएका हुन् ।


उनले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनालाई साकार पार्ने महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलको अहिलेको आवश्यकता भएको बताए । उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियानबीचैमा अलपत्र भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने बताइ ।

नेता पोखरेलले २०८४ सालमा हुने आम निर्वाचनमा नेकपा (एमाले) कुनै दलसँगको गठबन्धन नगरी एक्लै चुनावी मैदानमा जाने र बहुमत ल्याएर एकमना सरकार बनाउने गरी अहिले मिसन २०८४ को लागि आफ्नो सङ्गठन सुदृढीकरण अभियानमा होमिएको बताए । एउटा गठबन्धन टुटेर अर्काे बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्काे गठबन्धन निर्माण हुने अवस्था नरहेको उनको भनाइ छ । 


Author

थप समाचार
x