दल

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहन्छौं : कांग्रेस

इकागज |
चैत १८, २०८० आइतबार १४:४९ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहने जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा काग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गर्दै समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहने जनाएको हो । कांग्रेसका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका नेता सञ्जयकुमार गौतमलाई बोल्न समय दिएका थिए ।


गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे । यो विषयमा प्रधानमन्त्रीले दिएको जवाफ, प्रहरी प्रमुखले दिएको जवाफले न्याय निरूपण कसरी हुन्छ भन्ने संशय पैदा भएको उनले बताए ।

संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु कन्फ्क्टि अफ इन्ट्रेस्ट रहेको पनि उनको भनाइ  छ ।


Author

थप समाचार
x