दल

माधव नेपालको झुण्डमा लाग्‍नुभन्दा कांग्रेसमा प्रवेश गर्नु उत्तम : विष्णु पौडेल

इकागज |
भदौ ३०, २०७८ बुधबार २१:४१ बजे

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमालेबाट छुट्टीएर माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेर घुमाउरो तरिकाले नेपाली कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्नु उत्तम हुने अभिव्यक्ति दिएका छन् । 

बुटवलमा रूपन्देही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालले कुनै सिद्धान्तनिष्ठ नभएर स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लगाए । 
एमालेबाट अलग्गिएर कांग्रेसको पछि लागेका नेपाललाई वामपन्थी भन्न नसुहाउने पौडेलको भनाइ थियो ।


‘माधव नेपालको झुण्डमा लाग्नुभएका साथीहरूले नेपालमार्फत् कांग्रेसको सेवा गर्न जरुरी छैन । बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटाहरू छन्,’ उनले भने, ‘तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले इतिहासमै बलियो र ठूलो कम्युनिष्ट पार्टी निर्माण गरेपनि सहअध्यक्ष बनेका पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोजेको र माधव नेपाललगायत स्वार्थी प्रवृत्तिले सघाएका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटनामा परेको पनि उल्लेख गरे । 
 


Author

थप समाचार
x