दल

जिल्ला नेतृत्वले भाग नलिएको डडेल्धुराको प्रदेशसभा अधिवेशनले मान्यता पाउँला ?

दुर्गा आचार्य |
मंसिर ३, २०७८ शुक्रबार १७:३३ बजे

काठमाडौंँ– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रदेशसभा अधिवेशन आज हुँदै गर्दा दुई वटै क्षेत्रका प्रदेशसभा सभापति भने पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । 

प्रदेशसभा सभापतिद्वय करुणाकर भट्ट र मानबहादुर बुढा अनसनमा बसिरहेका हुन् । उनीहरु यता, अनसनमा भएपनि डडेलधुरामा भने दुवै प्रदेशसभाको अधिवेशन जारी छ । जिल्ला सभापतिका दावेदार तथा पर्शुराम गाउँपालिकाका मेयर भीमबहादुर साउदले दुवै प्रदेशसभाको अधिवेशन भव्य रुपमा भइराखेको जानकारी दिए । 


प्रदेशसभाका दुवै सभापतिहरु अनसनमा बसिरहेका बेला भएको अधिवेशनले मान्यता पाउँछ त भन्ने जिज्ञासामा उनले भने, ‘गाउँ–गाउँबाट ८० प्रतिशत बढी कांग्रेस कार्यकर्ताको सहभागिता छ, केही मानिस नआउँदैमा अधिवेशनले मान्यता नपाउने भन्ने हुँदैन ।’ उनले सहमति प्रक्रियाबाट नै नेतृत्व चयन गरिने पनि बताए ।

साउदले अनसन बसेर राजनीतिक बखेडा मात्रै झिकेको आरोप लगाए । ‘सहमति गरेर जाउँ भन्दा मान्नुभएन, केही मान्छेले राजनीतिक बखेडा गरिरहेका छन्,’ उनले भने । 

कांग्रेसले आज डडेलधुराका दुवै प्रदेशसभालगायत देशभरका तीन सय ३० प्रदेशसभामा अधिवेशन गरिराखेको छ । प्रदेशसभा (क) को अधिवेशन सदरमुकाम डडेलधुरामा भइराखेको छ भने प्रदेश सभा (ख)को अधिवेशन भने पर्शुराम नगरपालिका १२ लालढुंगामा भइराखेको छ । 

अनसन बसिराखेका दुवै प्रदेशसभा सभापतिहरुले भने कुनै पनि हालतमा भइराखेको अधिवेशनलाई मान्यता नदिने बताएका छन् । प्रदेश नम्बर(ख) का सभापति करुणाकर भट्टले आज भइरहेको अधिवेशनलाई कुनै पनि हालतमा नमान्ने बताएका हुन् ।

उनले भने, ‘हामी जिल्ला र प्रदेश सभा (क) र (ख) का दुई तिहाइ कार्यसमिति सदस्यहरु अनसनमा रहेका बेला भएको निर्वाचनलाई कसरी मान्न सकिन्छ । हामी कुनै हालतमा मान्दैनौं ।’

प्रदेशसभा सभापति र सिंगो कार्यसमितिबेगर भएको अधिवेशनलाई कांग्रेसको कुनै विधान, नियमावली र निर्देशिकाले मान्यता नदिने उनले दाबी गरे । उनले अधिवेशनका लागि वैधानिक मिति तय गर्नसमेत केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरे । भट्टले भने, ‘जिल्लामा अधिवेशन गराउने मतियारविरुद्ध घोर भत्र्सना गर्दछौं, क्रियाशील विवाद टुङ्ग्याएर तुरुन्त अधिवेशनको मिति तय गरियोस् ।’ 

यता, प्रदेश सभा (क) का सभापति मानबहादुर बुढाले पनि सभापतिबेगर भएको अधिवेशनले कुनै पनि हालतमा मान्यता नपाउने जिकिर गरे । क्रियाशील सदस्यता विवाद मिलाएर अधिवेशनमा जाने सहमति गर्ने भनेर छलफल हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरी एकलौटी ढंगले अधिवेशन भएको भन्दै बुढाले आपति जनाएका छन् । ४० औं वर्ष पार्टीमा लागेकाहरुको अपमान गरेर तानाशाही प्रवृतिले निर्वाचन गर्नु न्यायसंगत नभएको र त्यसविरुद्ध आन्दोलन गरिराख्ने उनले बताए ।

डडेल्धुरामा क्रियाशील सदस्यता विवाद देखिएको थियो । जिल्ला कार्यसमितिबाट सिफारिस भइ आएका ६ सय ६० जनाको सदस्यता काटी केन्द्रबाट नामै नसुनेका एक सय १२ जना क्रियाशील सदस्य थप गरिएको भन्दै डडेल्धुरा कांग्रेसले आपत्ति जनाएको हो । 

पुराना नेता कार्यकताको नाम काटिने र नामै नसुनेकाको क्रियाशील आएपछि २०७८ भदौ २२ गते जिल्ला कार्यसमितिको पूर्ण बैठक बसी थपिएको र काटिएका सदस्यताबारे सहमति नभएसम्म अधिवेशनमा जान नसकिने निर्णय गरेको थियो । 

भदौ २३ गते पालिका र वडा समितिले समेत क्रियाशील विवाद समाधान नभएसम्म अधिवेशन नगर्ने निर्णय गरेका थिए । तर, त्यसलाई बेवास्ता गर्दै डडेल्धुराका ५२ वटा नै वडामा अधिवेशन भएको छ भने पालिकास्तरीय अधिवेशनसमेत सम्पन्न भएको छ । ‘केही साथीहरुले सुरक्षाको घेराभित्र होटलहरुमा वडा अधिवेशन गरे, त्यसलाई हामी मान्दैनौं भनी जिल्ला र केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत दिएका थियौं त्यसको सुनुवाई भएको छैन’, प्रदेशसभा सभापति बुढाले भने । 

वडा अधिवेशनपछि उक्त अधिवेशनलाई नमान्ने भन्दै जिल्ला कार्यसमिति नै जिल्ला कार्यसमितिको कार्यालय डडेलधुरामा रिले अनसनमा बसेको थियो । डडेलधुरामा बसेको रिले अनसन केन्द्रीय कार्यालय काठमाडौं आइपुगेको छ, तर पनि उनीहरुको माग अझै सम्बोधन हुन सकेको छैन् । बुधबारदेखि केन्द्रीय कार्यालयमा जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा डडेल्धुरा कांग्रेस अनसनमा छ ।

यता, कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयाेजक महादेव यादवले डडेल्धुराको विषयमा उजुरी आएको बताए । उजुरीबारेमा अध्ययन भइराखेको र त्यसबाट निकास निस्कने उनले जानकारी दिए ।
 


Author

थप समाचार
x