दल

माओवादी केन्द्रीय समिति : खुल्लाबाट ६ जना महिला

इकागज |
पुस १९, २०७८ सोमबार ६:३८ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना महिलाले स्थान पाएका छन् । अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएका हुन् । 

माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो । यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ । 


थारु समुदायका ११ जना 

माओवादीको निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट नौ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन्। त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी छन् । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएका छन् । त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भएका छन् । यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ । 

अध्यक्ष दाहालको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाएका छन् । माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो । 

विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ । केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ । मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ । 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।  त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् । आज घोषणा गरिएका थप गर्नुपर्ने भए केन्द्रीय समितिले थप गर्नेछ । 

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले आज घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ । माओवादीले अल्पसङ्ख्यकका रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाउनुभएको छ । बाँकी पाँच जना भने मनोनयका क्रममा थप गरिनेछ । महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङले जानकारी दिए ।


Author

थप समाचार
x