दल

एमाले सिन्धुपाल्चोक अधिवेशन:

सर्वसम्मत नेतृत्व चयनको कसरत, पदाधिकारीमा पुरानै अनुहार आउने

इकागज |
पुस २३, २०७८ शुक्रबार ९:५ बजे

सिन्धुपाल्चोक - नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् । केदार क्षेत्री, कमल नेपाल, होम नारायण श्रेष्ठ र बालकृष्ण देउजाले नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । 

आज (शुक्रबार) बाह्रबिसेमा उद्घाटन हुने अधिवेशनकाे बन्द सत्रमा सर्वसम्मत नेतृत्वका लागि सहमति खोज्ने प्रयास हुने एमाले सिन्धुका एक नेताले बताए । सर्वसम्मत नेतृत्व चयनका लागि एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको छ ।


 अध्यक्षमण्डलमा अरुण नेपाल, सरेश नेपाल, डम्बर बहादुर अर्याललयागत छन् । उनीहरुले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि कसरत गर्ने बताइएको छ । सर्वसम्मत नेतृत्व चयन भएमा बालकृष्ण देउजा र कमल नेपालले नेतृत्वमा दाबी रहने बताएका छन् ।

 यदि निर्वाचन हुने भएमा मात्रै क्षेत्री र श्रेष्ठ प्रतिष्पर्धाम उत्रनेछन् । सिन्धुपाल्चोकका एमाले नेताहरूले पनि अहिले सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत गरिरहेको बताएका छन् । 

सर्वसम्मत नेतृत्व चयन गर्दा नेपालको पल्ला भारी हुने सम्भावना देखिएको छ । 'सर्वसम्मत नेतृत्व चयनमा हामी लागेका छौँ' एक जिल्ला नेताले भने' 'कमल नेपालको नाममा लगभग सहमति भइसकेको छ,यसैगरी अन्य पदािधकारी देखि सदस्यसम्म सहमति गरिनेछ ।' नेपालले यसअघि एमालेको जिल्ला सचिव भएर कार्यभार सम्हालिसकेका छन् । अहिले उनी लिसंखुपाखर गाउँपालिका अध्यक्षको रुपमासमेत कार्यरत छन् । पार्टीलाई एकढिक्का बनाउने र निर्वाचन गर्दा साथीहरुबीच मनमुटाव हुन सक्ने भन्दै एमालेले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न लागेको ती नेताले बताए । 

यसैगरी पदाधिकारीका अन्य पदमा समेत आकांक्षीहरुको लर्को छ । लामो समयमा एमाले जिल्ला अधिवेशन भएका कारण पनि नेतृत्वका लागि आकांक्षी बढेका हुन् । एमालेले ८औँ  जिल्ला अधिवेशन २०७० सालमा गरेको थियो । साे अधिवेशनबाट झम्क नेपाल अध्यक्षमा निर्वाचित भएका थिए ।  त्यसपछि एमाले र तत्कालीन एकीकृत माओवादी मिलेर नेकपा गठन भएपछि अधिवेशन भएको थिएन । अहिले पुन: नेकपा फुट र एमालेकै तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाललगायतले पार्टी  विभाजन गरी एकीकृत समाजवादी गठन गरे पश्चात एमाले अधिवेशन हुन लागेकाे हाे ।

लामाे समयपछि अधिवेशन भएतापनि एमाले संगठन विभागले गरेको एक परिपत्रले भने आकांक्षी देखिएका धेरैलाई खुम्च्याएको छ । विभागले दुई कार्यकाल जिल्ला कार्यसमितिमा सदस्य भएर काम गरेको र सचिवालयमा एक कार्यकाल काम गरेकाले मात्रै पदाधिकारीमा दाबेदार गर्न पाउने उल्लेख गरेको छ । त्यसैले पनि यसअघि जिल्ला कार्यसमितिमा काम गरेकाहरुनै जिल्ला पदाधिकारीम आउने निश्चित छ । यसले आकांक्षी नेता कार्यकर्तालाई  भने असतुष्ट र निराश बनाएको छ । तर, एमाले हुँदाकाे दुई कार्यकाल वा नेकपा हुँदाकाेसमेत भन्ने कुनै खुलाइएकाे छैन ।

एमालेले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १ सय १० जनाको जिल्ला कार्यसमिति चयन गर्नेछ । सचिवका लागि जेपी सिलवाल, कृष्णगोपाल तामाङ , टासी लामा,  चन्द्र थिङ र विष्णुमणि आचार्य आकांक्षी देखिएका छन् । सर्वसम्मत नेतृत्व चयन भएमा टासी र सिलवालमा एक जना सचिन हुने लगभग निश्चिचत छ । यसैगरी उपाध्यक्ष र उपसचिवका लागि पनि नेतृत्व दाबी गर्नेकाे कमी छैन् । सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरेकाे एमालेले नेताकाे नजिककालाई नेतृत्वमा ल्याउँछ वा कार्यकर्तासँग नजिक भएकालाई त्याे भने हेर्न बाँकी छ । 
 


Author

थप समाचार
x